सृजनसिल युवा क्लब गुल्मीदरबार–२, जुभुङ उर्लाकोट गुल्मीले देउसी भैलोको रकम विद्यालयलाई सहयोग गर्ने भएको छ ।
देउसी भैलोबाट जम्मा भएको रकम जुभुङकै महाकाली निम्न माध्यमिक विद्यालय ठुलाचौरलाई प्रदान गर्ने भएको हो । देउसी भैलो उपसमितिका संयोजक अशोक सारुको अध्यक्षतामा स्थानिय समाजसेवीको उपस्थितीमा बसेको बैठकले विद्यालयलाई दुई लाख रुपैया प्रदान गर्ने निर्णय गरेको छ । विद्यालयमा उक्त रकमबाट कोष खडा गरी एक सय बढी विद्यार्थीलाई विद्यालय पोशाक (ट्रयाक सुट) खरिद गर्ने निर्णय भएको क्लवका सचिव कमल सारुले जानकारी गराउनुभयो । क्लबले यस अघि पनि विभिन्न माध्यमबाट संकलन भएको रकमबाट महाकाली विद्यालयको रजत जयन्ती मनाउन सहयोग, ठुलाचौरमा रहेको मन्दिरको कम्पाउण्ड निर्माण, उर्लाकोटमा प्रतिक्षालय निर्माण, उर्लाकोटकै चौपारीमा फलामे बेन्च, सामाजिक कामको लागि आवश्यक पर्ने भाडाकुडा, उर्लाकोटकै बचत घरमा जस्ता पाता लगाउने लगाएतका काम गदै आएको क्लबका अध्यक्ष अमर पल्लीले जानकारी गराउनुभयो ।
क्लबले यही कात्तिक २९ गते देखि साविक वडा स्तरिय भलिबल प्रतियोगिता समेत आयोजना गरेको छ । प्रतियोगिताको विजेतालाई ३० हजार, उपविजेतालाई २० हजार, तेस्रो स्थानलाई १० हजार पुुरस्कार र उत्कृष्ट खेलाडीलाई एक हजार रुपैयाको व्यवस्था गरेको छ ।