रुपन्देहीमा चांगनको ‘दिपल इभी’ लन्च

1.3K

रुपन्देहीमा चांगनको ‘दिपल इभी’ लन्च

विश्वकै उत्कृष्ट चारपाग्रे सवारी उत्पादक गर्दै आएको चाईनाको चांगान कम्पनीको दिपल इभी रुपन्देहीमा लन्च गरिएको छ । नेपालका लागि आधिकारिक बिक्रेता एमएडब्लु वृद्धि र यस क्षेत्रको आधिकारिक विक्रेता जेनस मोटर्सले ईभिको नयाँ अप्सनका रुपमा डिपलका दुई मोडल चारपाग्रे सवारी आईतबार औपचारिक रुपमा लन्च गरेको हो ।
बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले डिपल एल जिरो सेभेन र डिपल एस जिरो सेभन दुई सवारी लन्च गर्दै बजारमा ईभि सवारीको क्रेज बढ्दै गएको बताउनु भयो । ईभि गाडीको विश्वासनीयतालाई कायम राख्नेगरी सेवा दिन पनि विक्रेतालाई आग्रह गर्नुभयो । स्थानीय सरकार ईभिको सेवाप्रती सजग रहेको भन्दै चार्जिङ स्टेसनमा जोड दिएको उहाँले बताउनु भयो । आम उपभोक्ताको माग र चाहना अनुसार सेवामा ध्यान दिनुपर्ने भन्दै स्थानीय सरकार सहयोग र सहकार्य गर्ने प्रतिवद्घता व्यक्त गर्नुभयो ।
कार्यक्रममा जेनस मोटर्सका प्रबन्ध निर्देशक क्षेत्रकुमार श्रेष्ठले संसारमै सबैभन्दा धेरै फिचर भएको सवारीका रुपमा चानगन कम्पनीले पहिचान बनाएको दाबी गर्दै १६० वर्ष लामो ईतिहास बोकेको कम्पनी भएको बताउनु भयो । दिपलमा वेलकम सिट, सनफलावर टचस्क्रिन, अग्मेन्टेड रियालिटी हेडअप डिस्प्ले, जेस्चर कन्ट्रोल, हेडरेड र आउटडोर स्पिकर लगायतका कारमा १५ भन्दा बढि फिचरहरु रहेको जानकारी गराउनु भयो । अहिलेसम्मकै बढी ५४० किलोमिटर माईलेज यसमा रहेको छ ।
कार्यक्रममा डिप्पलको अनुभव शेयर गर्दै उद्योगी विकास पाण्डेले ६ महिनाको अवधिमा नेपालका बाटाहरुमा यो उपयुक्त लागेको बताउनु भयो ।
कार्यक्रममा एम.ए.डब्लु ग्रुपका डिलर हेड सुरेन्द्र केसीले नेपालमा ईभि कारको माग बढ्दो रहेको बताउँदै नेपालमा हाल कुल सवारीमध्ये ८० प्रतिशतभन्दा बढि ईभि गाडी भित्रिएको भनाई राख्नुभयो । ६ महिना अघि काठमाडौमा लन्च भएको यो गाडी ६ सय बढि गाडी बिक्रि भएको छ । विश्वका ६ देशका १० शहरमा यो कम्पनीको उत्पादन लिईरहेको छ ।
कार्यक्रममा बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्यालले हरित क्रान्तिको लागि यो सवारी साधन समयसापेक्ष भएको भनाई राख्नुभयो । विद्युतीय उर्जा अबको समयको माग अनुसार बिस्तारै बढेको भन्दै उहाँले नयाँ पुस्तामा ईभि सवारी आकर्षक भएको बताउँदै राष्ट्रिय अर्थतन्त्रलाई उकास्न समेत यो नयाँ प्रविधि उपयोगी हुने आशा व्यक्त गर्नुभयो । सिद्धार्थनगर उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुर श्रेष्ठले अटो क्षेत्रमा नयाँ ब्यवसायी भित्रदा आशा र उर्जा जागेको बताउनु भयो ।