बुटवलको पशु बधशाला र सहकारीबीच खसीबोका खरिद विक्रि सम्झौता

1.3K

बुटवलको पशु बधशाला र सहकारीबीच खसीबोका खरिद विक्रि सम्झौता

बुटवलको पशु बधशाला र विभिन्न सहकारीबीच खसीबोका खरिद विक्रि गर्ने सम्झौता भएको छ । हालै सञ्चालनमा आएको बुटवल अत्याधुनिक बधशालाबीच किसानले उत्पादन गरेका खसीबोका सहकारी मार्फत बधशाला व्यवस्थापन मुक्तिनाथ लाइभस्टक बैंकले खरिद सुनिश्चिततामा सम्झौता गरेको हो ।
बुटवल उपमहानगरपालिका र मुक्तिनाथ लाइभस्टक बैंकको संयुक्त सहकार्यमा बुटवल उपमहानगरपालिका वडा नं. १० रामनगरमा आधुनिक वधशाला सञ्चालनमा आएको छ । वधशालावाट प्रशोधित मासु स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी चिस्यान सहितको गाडी (चिलिङ् भ्यान) मार्फत मासु व्यवसायीको पसलसम्म पुर्याईने मुक्तिनाथ लाईभस्टक बैंकका अध्यक्ष उमेशकुमार आचार्यले बताउनु भयो ।
किसानले उत्पादन गरेको खसीबोकाको विक्रिको लागि बजारको सुनिश्चितता र बधशालाको लागि मासूको आपूर्ति व्यवस्थापनको लागि कृषि तथा बहुउद्देश्यीय सहकारी संस्थाबीच दुईपक्षीय समझदारी गरिएको उहाँले बताउनु भयो । उहाँका अनुसार अहिलेसम्म १० वटा सहकारीसंग सम्झौता गरिसकिएको छ भने अरु सहकारीहरुसंग पनि सोही अनुसार सम्झौता गरिनेछ ।
दैनिक १ हजार खसीबोका बध गर्ने क्षमता भएको यो बधशालामा हाल दैनिक २०÷२२ वटा खसीबोका बध हुँदै आएको पनि उहाँले जानकारी गराउनु भयो । दैनिक २५० देखि ३ सय खसीबोका बध गरि विक्रि वितरण गर्न सकियो भने वार्षिक सरदर २ अर्व रुपैंया किसानले कारोवार गर्ने हुँदा त्यसले ग्रामिण अर्थतन्त्रलाई उकास्न समेत मद्धत पुग्ने उहाँको दावी छ ।
कार्यक्रममा बुटवल उपमहानगरपालिकाकी सूचना अधिकारी तथा अनुगमन महाशाखा प्रमुख तुलसा अर्यालले २०७० सालदेखि विभिन्न प्रकृया पुरा गरेर अहिले बधशाला सञ्चालनमा आएको बताउँदै नागरिकको स्वच्छ र उपभोगयुक्त मासु उपभोगको सुचिश्चितता प्रदान गर्नुपर्ने बताउनु भयो ।
त्यस्तै अर्घाखाँचीको सितगंगामा रहेको गंगाजल कृषि तथा महिला विकास सहकारी संस्थाकी व्यवस्थापक कृष्णा दर्लामीले बधशालासंग भएको यो सम्झौतासंगै किसानले उत्पादन गरेका खसीबोकाको मुल्य र बजारको सुनिश्चितता भएको बताउनु भयो । त्यसैगरी रुपन्देहीको लहर सामाजिक उद्यमी महिला सहकारीकी राधिका चौधरीले गाउँका किसानले बजार र मुल्य नपाएको अवस्थामा यो सम्झौताले किसानलाई आशाको सन्देश दिएको बताउनु भयो ।