नेपाली काँग्रेसले चिनियाँ सरकारले अनुदानमा गरेका प्रतिवद्धता पूरा नभएसम्म कुनैपनि नाममा नयाँ ऋण लिन नहुने निर्णय गरेको छ । नेपाली कांग्रेसले नेपालको विद्यमान आर्थिक अवस्था र सुधारका उपायबारे अर्थविद र परराष्ट्र मामिलाका जानकारसँग छलफल गरेपछि बीआरआईका नाममा नयाँ ऋण लिन नहुने निर्णय लिएको हो ।
छलफलपछि पार्टीका प्रवक्ता तथा पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले यसअघिका चिनियाँ प्रतिवद्धता पूरा गर्नुपर्ने बताउनु भयो । अनुदानमा चिनियाँ सरकारले गरेका प्रतिवद्धता कार्यान्वयन नभएको बताउँदै उहाँले गरेका प्रतिवद्धता कार्यान्वयन नहुँदै ऋणको कुरा गरेर अर्थ नहुने भनाई राख्नुभयो ।
अहिले ऋणको भार पनि बढिरहेकोले चिनियाँ सरकारसँग मात्रै नभई जुनसुकै सरकारसँग पनि अहिले ऋण लिने कुरामा जान नहुने उहाँले बताउनु भयो । सत्ता साझेदार दल नेकपा एमालेसँग बीआरआईको विषयलाई लिएर विमती सार्वजनिक भइरहेका बेला कांग्रेसले संसद भनवको ल्होत्से हलमा अर्थविद र परराष्ट्र मामिलाका जानकारहरुसँग छलफल गरेको थियो ।
छलफलमा छलफलमा काँग्रेस सभापति शेरबहादुर देउवा, महामन्त्री गगन थापा, परराष्ट्रमन्त्री आरजु राणा देउवा, नेताहरु प्रकाशशरण महत, उदय शम्शेर राणा, चीनकाजी श्रेष्ठ लगायत थिए ।