बैंकमा थुप्रिएको तरलता परिचालनमा ध्यान केन्द्रित गरेका छौं : अर्थमन्त्री पौडेल

1.3K

बैंकमा थुप्रिएको तरलता परिचालनमा ध्यान केन्द्रित गरेका छौं : अर्थमन्त्री पौडेल

उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बैंकमा थुप्रिएको तरलता परिचालनको लागि आफूहरुको ध्यान केन्द्रित भएको बताउनु भएको छ । उहाँले पछिल्लो समय बैंकहरुमा तरलता बढेको, विदेशी सञ्चिती बढेको, रेमिट्यान्स बढेको र चुहावट भईरहेको राजश्व नियन्त्रण हुँदा पहिलो त्रैमासिक समिक्षामा राजश्व संकलनको लक्ष्य समेत बृद्धि भएको बताउँदै अर्थतन्त्रका सबै सूचक सकारात्मक दिशामा अगाडि बढेको बताउनु भयो ।
बैंकमा थुप्रिएको तरलतालाई सदुपयोग गर्न सकियो भने लगानी विस्तार र रोजगारी पनि विस्तार गर्न सकिने बताउँदै त्यसले मुलुकको अर्थतन्त्रलाई पनि थप चलायमान बनाउने र वैदेशिक रोजगारीको दरलाई पनि कर्म गर्न सकिने भनाई राख्नुभयो । उहाँले उत्पादन र उत्पादकत्व बृद्धिमा जोड दिनुभयो ।
रुपन्देही उद्योग संघको ४७ औं स्थापना दिवसमा शनिबार बुटवलमा आयोजना गरिएको कार्यक्रममा अर्थमन्त्री पौडेलले राजनीतिक अस्थिरता व्यवस्थापनमा भएको व्यस्तताले अन्य कुराहरु ओझेलमा पारेको स्वीकार गर्दै नीति र नेतृत्वमा स्थिरताको लागि यो समिकरण बनेकोले काँग्रेस एमाले विचको यो समिकरण पुरा अवधि २०८४ को निर्वाचनसम्मै कायम रहने दावी गर्नुभयो ।
अहिलेको सरकार २०८४ को चुनावसम्म नढल्ने दाबी गर्दै अर्थमन्त्री पौडेलले उद्योगीलाई ढुक्क भएर लगानी गर्न आग्रह गर्नुभयो । अहिलेको जस्तो स्थिर सरकार अहिलेको संसदको अंकगणितले दिन नसक्ने भएकाले यसको लाभ उद्योगी व्यवसायीले लिन सक्नुपर्ने पौडेलले बताउनु भयो । एमाले उपाध्यक्ष समेत रहेका अर्थमन्त्री पौडेलले अहिलेको सरकार ढालेर अस्थिरता निम्त्याउने प्रयास कसैले गरेपनि सफल नहुने दावी गर्नुभयो ।
उहाँले मुलुकको अर्थतन्त्रको सुधारका लागि औद्योगिक विकास अपरिहार्य रहेको बताउँदै औद्योगिक विकास र व्यवसायिक वातावरण निर्माणका लागि उद्योगी व्यवसायीका समस्याको पहिचान गरी समाधान उपायहरु सरकारलाई दिनको लागि आर्थिक सुधार सुझाव आयोग गठन गरिएको जानकारी गराउँदै उहाँले आयोगलाई आफ्ना सुझावहरु दिन पनि आग्रह गर्नुभयो । ‘उद्योगी व्यवसायीका समस्यामा सरकार गम्भिर छ ।’ अर्थमन्त्री पौडेलले भन्नुभयो–‘आर्थिक सुधार सुझाव आयोगले दिएको सुझावका आधारमा सरकार अगाडि बढ्न खोजेको छ, त्यसमा तपाईहरुको सुझाव आओस ।’

उहाँले शेयर बजार तथा पुँजीबजारलाई सुधार गरिएको पनि बताउनु भयो । विद्युतमा ट्रंक लाईन तथा डेडिकेटेट लाईन विवाद अब चाँडै समाधान हुने विश्वास व्यक्त गर्दै उहाँले भन्नुभयो–‘उद्योगीले आफूले उपभोग गरेको विद्युतको पैसा तिर्नुपर्छ र विद्युत प्राधिकरणले विल दिन सक्नुपर्छ, विल दिन नसक्ने भुक्तानी देउ भन्न मिल्दैन ।’
सरकारले बुटवलको मोतिपुर औद्योगिक क्षेत्र स्थापनालाई प्राथमिकतामा राखेर उद्योग मन्त्रालयसंग निरन्तर छलफल गरिरहेको उल्लेख गर्दै मन्त्री पौडेलले स्थानीयले जोतभोग गरिरहेको र वस्ती रहेको क्षेत्र छाडेर भए पनि औद्योगिक क्षेत्र निर्माणको काम थाल्ने तयारीमा रहेको बताउनु भयो । औद्योगिक क्षेत्रका लागि सरकारले ८१३ बिघा जग्गा जग्गाको भोगाधिकार औद्योगिक क्षेत्र व्यवस्थापन लि.को नाममा ल्याएको थियो ।
बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र र प्रदर्शनी स्थल सञ्चालनका लागि समिति बनाइएको र कार्यविधी बनाएर छिटै सञ्चालनमा ल्याउने उहाँले बताउनु भयो । अर्थमन्त्री पौडेलले विमानस्थल चल्दैन भनेर नबोल्न र नलेख्न आग्रह गर्दै विमानस्थल जसरी पनि चलाईने बताउनु भयो ।
त्यसै अवसरमा संघले स्थापना गरेको औद्योगिक पत्रकारिता पुरस्कार पत्रकार दिनेश पाण्डेलाई प्रदान गरिएको छ । उक्त पुरस्कार संघका अध्यक्ष दिलिप सापकोटा, अर्थमन्त्री पौडेल लगायतले नगद पुरस्कार सहित खादा र प्रशंसा पत्र प्रदान गर्नुभएको हो । उक्त पुरस्कारको राशी ४७ हजार १५५ रुपैंया रहेको छ । त्यसै अवसरमा उत्कष्ट उद्योगीहरुलाई पनि सम्मान गरिएको छ ।