सरसफाई, हरियाली प्रवर्द्धन र उज्यालोमा पाईला चाल्दै बुटवलको सहकारी

1.3K

सरसफाई, हरियाली प्रवर्द्धन र उज्यालोमा पाईला चाल्दै बुटवलको सहकारी

बुटवलको देवीनगर सरसफाई तथा वातावरण संरक्षण सहकारी संस्थाले सरसफाई संगै हरियाली प्रवद्र्धन र उज्यालोको क्षेत्रमा पनि काम गर्ने भएको छ । उक्त सहकारी संस्थाको शनिबार बुटवलमा भएको चौथो वार्षिक साधारण सभाले उक्त निर्णय गरेको संस्थाका सचिव सुरेश पौडेलले जानकारी गराउनु भयो ।
यो सहकारीले वचत तथा ऋण संगसंगै सरसफाईको क्षेत्रमा काम गर्दै आएको थियो । साधारण सभाले सरसफाईलाई निरन्तरता दिँदै हरियाली प्रवर्द्धन र उज्यालोको क्षेत्रमा काम गर्ने निर्णय गरेको हो । साधारण सभामा संस्थाका अध्यक्ष भूमेश्वर खत्रीले सहकारीको कार्यक्षेत्रलाई अझै फराकिलो बनाउँदै दायरा बढाउने गरी सरसफाई संगै हरियाली र उज्यालोको क्षेत्रमा काम गर्ने प्रस्ताव गर्नुभएको थियो ।
त्यस्तै साधारण सभाले संस्थाका शेयर सदस्यहरुलाई कोशी तथा करेसाबारी तरकारी खेती तालिमलाई निरन्तरता दिने निर्णय गरेको छ । यो कार्यक्रम अघिल्लो वर्षदेखि सञ्चालन गरिएको थियो ।
साधारण सभामा बोल्दै बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले सरहकारीले सञ्चालन गरेको सरसफाई अभियान सन्तोषजनक रहेको बताउँदै सरसफाईसंगै हरियाली प्रवद्र्धन र उज्यालो बुटवलको क्षेत्रमा पनि काम गर्ने नीति बनाउन आग्रह गर्नुभयो । उहाँले उहाँले सरसफाईमा सहकार्य हुँदै आएको र हरियाली प्रवर्द्धन तथा उज्यालो बुटवल कार्यक्रममा पनि सहकार्य गर्न सकियो भने कार्यक्रमलाई निरन्तरता दिन सकिने भनाई राख्नुभएको थियो ।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका उपनिर्देशक दामोदर ज्ञवाली, सामाजिक शाखा अधिकृत ठगिश्वर पोखरेल, संस्थाका उपाध्यक्ष गोपाल घिमिरे, शेयर सदस्य अमर प्रधान लगायतले भनाई राख्नुभएको थियो ।
साधारण सभामा संस्थाका अध्यक्ष भुमेश्वर खत्रीले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन, कोषाध्यक्ष हरिप्रसाद भट्टराईले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन तथा लेखा समिति संयोजक विष्णुप्रसाद पंगेनीले प्रस्तुत गरेको लेखा समितिको प्रतिवेदन पारित भएको सचिव पौडेलले बताउनु भयो ।
त्यस अवसरमा संस्थाले जेष्ठ नागरिक हितकुमारी खत्री र शेयर सदस्यको सन्तती मध्येबाट सामुदायिक विद्यालयबाट माध्यमिक विद्यालयमा उत्कृष्ट अंक ल्याएका प्रशान्त आचार्यलाई सम्मान गरिएको थियो ।