बुटवलले बनायो नगर गान : नगरसभाबाट अनुमोदन

1.3K

बुटवलले बनायो नगर गान : नगरसभाबाट अनुमोदन

बुटवल उपमहानगरपालिकाले नगर गान तयार गरेको छ । खुला प्रतिस्पर्धाबाट नगर गान छनोट गरी नगर कार्यपालिका बैठकबाट पारित गर्दै नगर सभाबाट अनुमोदन गरिएको हो ।
१४ जनाले पेश गरेका नगर गानमध्ये बुटवलका डिल्लीनारायण पाण्डेले रचना गरेको नगर गान उत्कृष्ट भएको हो । सोही नगरगान बुधबारको नगर सभाले अनुमोदन गर्दै प्रचलनमा ल्याएको नगर प्रमुख खेलराज पाण्डेयले बताउनु भयाे । नगर गानमा बुटवलको ऐतिहासिकता, कला संस्कृति र समावेशी विषयहरु समावेश छन् ।

नगर सभाले अनुमाेदन गरेकाे नगरगान

चुरे पहाड, उर्वर तराई, तिनाउ कलकल
रामापिथेकश, बुद्धवल्ली गौरव बुटवल ।
बहु भाषा, धर्म संस्कार, थरिथरि जाति
वसन्तपुर, नुवाकोट मुस्कुराउँछन् माथि ।
मणिमुकुन्द, उजिरसिंह, जितगढीको माटो
घिउ बेचेर नुनतेल साट्ने पुर्खाको यही बाटो ।

कृषि, उद्योग, व्यापार र पर्यटकको लहर
देशकै अब्बल शिक्षा, स्वास्थ्य आधुनिक सहर ।
प्राकृतिक सम्पदा र सभ्यताको खानी
सिद्धभूमि बुटवलबासी हामी भाग्यमानी ।
हाम्रो खस्यौली
राम्रो बटौली
प्यारो बुटवल ।

नगरसभामा तीन विधेयक र तीन संसोधन प्रस्ताव पेस

बुटवल उपमहानगरपालिकाको सोह्रौं नगर सभा शुरु भएको छ। बुधबार शुरु भएको सभामा बोल्दै नगर प्रमुख खेलराज पाण्डेयले बुटवललाई अब्बल नगर बनाउनका लागि हरेक क्षेत्रको समानुपातिक विकासमा जोड दिएको बताउनु भयाे । उहाँले जनतासँग गरेका वाचाहरु पूरा गर्नका लागि सबै जनप्रतिनिधिहरु एकसाथ अगाडि बढिरहेको बताउनु भयाे ।
नगर सभाको बुधबारको बैठकमा उपप्रमुख सावित्रादेवी अर्यालले बुटवल उपमहानगरपालिकाको आर्थिक ऐन २०८१ संसोधनको प्रस्ताव टेबुल गर्नुभएकाे छ भने सामाजिक विकास समितिका संयोजक प्रदीपकुमार श्रेष्ठले छाडा चौपाया व्यवस्थापन र नियन्त्रण गौशाला सञ्चालन ऐन संसोधन प्रस्ताव टेबुल गर्नुभएकाे छ।
यस्तै विधेयक समितिका संयोजक नरेन्द्र बस्नेतले नगर प्रमुख गृहिणी महिला स्वरोजगार कार्यक्रम सञ्चालन विधेयक, मेयर युवा रोजगार प्रवर्द्धन कार्यक्रम सञ्चालन विधेयक र करारमा कर्मचारी व्यवस्थापन गर्नेसम्बन्धि विधेयक टेबुल गर्नुभएकाे छ ।
बुधबार शुरु भएको नगर सभा बैठक यही पुस २९ गतेसम्मका लागि स्थगित भएको छ ।