बुटवलको सुप्रिम सहकारीको रकम अपचलन प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रविलामिछाने सहित ४२ जना उपर अदालतमा मुद्दा दायर गरिएको छ । जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीले जिल्ला अदालत रुपन्देहीमा आइतबार मुद्दा दायर गरेको हो ।
सरकारी वकिल कार्यालयकी सूचना अधिकारी उमाकुमारी केसीका अनुसार मुलुकी फौजदारी अपराध संहिताको ठगी कसुर र संगठित अपराधको कसुरमा मुद्दा दायर गरिएको हो ।
लामिछानेविरुद्ध व्यक्तिगत २ करोड र सामूहिक २ करोड गरेर चार करोड रुपैयाँभन्दा बढी बिगो मागदाबी गरिएको छ । २ करोड रुपैयाँ रवि लामिछानेको नाममा गएको उल्लेख भौचर समेत बरामद भएको थियो ।
सुप्रिम सहकारीको रकम अपचलनबारे प्रहरीले बुझाएको यो दोस्रो पूरक अनुसन्धान हो । यसअघि रवि गृहमन्त्री रहेकै बेला सुप्रिमको मुद्दा ३ वैशाखमा अदालतमा दर्ता भएको थियो । त्यतिबेला १ हजार ८३१ बचतकर्ताको ८६ करोड १८ लाख २३ हजार ७५४ रूपैयाँ हिनामिना गरेको दाबी गर्दै २८ जनाविरुद्ध मुद्दा दायर भएको थियो । अहिले थप १४ जनालाई प्रतिवादी बनाइएको छ ।