बुटवलमा निर्माण गरिएको पशुबशाला टेण्डरमार्फत निजी कम्पनीलाई दिईएपछि त्यसको विरोधमा उत्रिएका व्यवसायी अन्नतः बधशाखाकै मासु विक्रि वितरण गर्ने सहमतिमा आएका छन् । पशुबधशाला सञ्चालनका आधारभूत मापदण्ड पालना गरी निजी क्षेत्रबाट समेत साना, मझौला र ठूला उद्योगका रुपमा बधशाला सञ्चालन गर्न ऐन तथा कानुनहरु परिमार्जन गर्ने व्यवस्था मिलाउने लगायतका २५ बुँदे सहमति पछि व्यवसायी तत्काल बधशालाको मासु विक्रि वितरणका लागि सहमत भएका हुन् ।
बुटवल उपमहानगरपालिका र मासु व्यवसायी संघ रुपन्देही बिच गत मंगलबार यस विषयमा सहमति भएको हो । मासु व्यवसायी संघले राखेका माग र विभिन्न समयमा भएका छलफलबाट २५ बुदे सहमति गर्दै निश्कर्षमा पुगिएको नगरप्रमुख खेलराज पाण्डेयले बताउनु भयो । बुटवल उपमहानगरपालिका र मासु व्यवसायी संघ रुपन्देही बिच भएको २५ बुँदे सहमति बिहिबार नगरपालिकामा कार्यक्रम गरी सार्वजनिक गरिएको हो ।
त्यस अवसरमा नगरप्रमुख खेलराज पाण्डेयले नगरपालिका र मासु व्यवसायी बिच भएको सहमतिले उपभोक्ताको स्वस्थ मासु उपभोग गर्न पाउने अधिकारको सुनिश्चितता भएको बताउनु भयो । उहाँले ऐन कानुन अनुसार व्यवसायीलाई बधशालामा सहभागि गराउन नसकिएको बताउँदै यो सहमति बनेपछि यस अगाडि बधशालाले मासु विक्रि वितरणका लागि सञ्चालन गरेका आउटलेट पनि बन्द हुने र व्यवसायीले पनि बधशालामा बध गरिएको मासुको विक्रि वितरण गर्नुपर्ने बताउनु भयो । उहाँले नगरपालिकाले व्यवसायिक संरक्षण, प्रवद्र्धन र विकासका लागि व्यवसायिक संघसंस्थासंग सहकार्यको नीति लिएको बताउँदै बुटवलको विकासको लागि सबैको एकता र सहकार्यमा जोड दिनुभयो ।
त्यस्तै उपप्रमुख सावित्रादेवी अर्यालले आधुनिक बधशाला बुटवल तथा रुपन्देही जिल्लाको मात्र नभई लुम्बिनी प्रदेशकै गौरवको आयोजना भएकोले यसको दिगो संचालनका लागि स्थानीय उत्पादक र बजारीकरणसँग सम्बन्धित व्यवसायीहरुलाई समेट्ने गरी कार्ययोजना बनाई आवश्यक समन्वय गरिने बताउनु भयो । उहाँले अनुगमनलाई उपभोक्ता र व्यवसायीमैत्री बनाई कडाईकासाथ अनुगमन गरी गरिने बताउँदै ऐन कानुन, सहमति र मापदण्डको पूर्ण पालनाको लागि आग्रह गर्नुभयो ।
मासु व्यवसायी समिति रुपन्देही अध्यक्ष विशाल थापाले बधशालालाई अधिकतम भन्दा अधिकतम व्यवसायी र उत्पादक किसानको लाभमा उपयोग गर्ने गरि सहमति गरिएको बताउँदै व्यवसायीका समस्या समाधानका लागि नगरपालिका र नियामक निकाय अग्रणी भएर लाग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले सबै प्रकारका आग्रह पूर्वाग्रह त्यागेर सहमति गरिएको बताउँदै अब बुटवल मासुको क्षेत्रमा नमुनाको शहर बन्ने पनि भनाई राख्नुभयो ।
त्यस्तै होटल तथा रेष्टुरेण्ट व्वसायी संघ रुपन्देहीका अध्यक्ष लेखनाथ भण्डारीले सहमतिले एउटा आशाखको सन्देश दिएको बताउँदै उपभोक्ताले ढुक्क भएर मासुको उपभोग गर्न सक्ने विश्वास व्यक्त गर्नुभयो । त्यस अवसरमा नगरपालिकाका प्रवक्ता शिव रानाले नगरपालिका र मासु व्यवसायी संघ रुपन्देहीका बिचमा भएको सहमति सार्वजनिक गर्नुभएको थियो ।


