देवदह जेसीजको अध्यक्षमा निर्वाचित भई भर्खरै मात्रै पदभार सम्हाल्नु भएका दीपक अधिकारी जेसीजको अध्यक्षमात्रै होईन, उद्यमशिलता र नेतृत्व साधनाको संगम पनि हो । धौलागिरीको काख, कालिगण्डकीको पवित्र जल सिंचित क्षेत्र, कालिका मन्दिरको आगनमा हुर्किका अधिकारी बागलुङमा जन्मिएपनि कर्मथलो भने रुपन्देही बनेको छ ।
बागलुङमा जन्मिएका अधिकारीको बाल्यकाल पनि रुपन्देहीको देवदहमै व्यतित भयो । सरल, सौम्य, मेधावी दीपकको औपचारिक शिक्षाको यात्रा रुपन्देहीको भलुहीस्थित रोहिणी इङ्गलिस स्कुलबाट सुरु भएको थियो । उहाँले वित्तशास्त्रमा स्नातकोत्तर पुरा गर्नुभएको छ ।
विद्यार्थी जीवनदेखि नै अध्यापन पेशामा रहेका दीपकको उद्यमशिलतामा ज्यादा रुची थियो । उहाँले आफू मात्रै हाईन अरु साथीभाईलाई पनि उद्यमी बनेर आत्मनिर्भर बन्न अभिप्रेरित गर्नुहुन्थ्यो । अन्ततः उहाँले शिक्षण पेशा छाडेर व्यवसायिक यात्रा तय गर्नुभयो । उहाँ हाल एल.बी मोटर्स प्रा.लि, एल.बी इन्फ्रा इक्विपमेन्ट प्रा.लि र डी.एल.टी ट्रेडर्स प्रा.लि. को सञ्चालक हुनुहुन्छ ।
नेपालका लागि मलकिट कम्बाइन हार्भेस्टरको नेशनल डिलर, सामे ट्र्याक्टरको लुम्बिनी प्रदेशभर आधिकारिक वितरक, शान्तुई ब्रान्डका हेभी इक्विपमेन्ट उपकरणहरूको अधिकृत विक्रेताको रुपमा रहनु भएका दीपकले कृषि र निर्माण क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउनु भएको छ ।
शान्तिका अग्रदुत गौतम बुद्धको मावली देवदहमा सन् २०१५ मा स्थापित देवदह जेसीजको संस्थापक उपाध्यक्ष रहनुभएका नेतृत्वमा पनि परिवक्व हुनुहुन्छ । उहाँले देवदह जेसीजमा महासचिव हुँदै अध्यक्षको जिम्मेवारी बोक्नुभएको छ । सिकाईलाई प्राथमिकता दिने दीपकले नेपाल जेसीजले आयोजना गरेको बिजनेस एकेडेमी २०२४ मा चेन्ज मेकर अवार्ड प्राप्त गरेर आफूलाई युवा जोश र अनुभवी दृष्टिकोणको अद्भुत संगम प्रमाणित गर्नुभयो ।
संयुक्त परिवारको संस्कारमा हुर्केका दीपकको जीवनको आधारस्तम्भ परिवार हो । उहाँको परिवारमा श्रीमती ज्योती र छोरी रितकृति सहित दाई सुरेन्द्र, भाउजु लक्ष्मी, भाइ कृष्ण, भतिजहरू आयुष र आरुष हुनुहुन्छ । ओशो साधनामा समर्पित दीपक भन्नुहुन्छ–‘बाहिरी होहल्ला नियन्त्रण गर्नुअघि मनको होहल्ला नियन्त्रण गर्नुपर्छ ।’ यही कुराले उहाँको आत्मबललाई बलियो बनाएको छ ।
युवामा नेतृत्व र व्यक्तित्वसंगै उद्यमशिलताको विकास गराउन सकियो भने त्यसले व्यक्तिसंगै उसको परिवार, समाज हुँदै देशकै अर्थतन्त्रमा योगदान गर्न सक्छ भन्ने उहाँले राम्रोसंग बुझ्नुभएको छ । उद्यमशिलता विकास विना व्यक्तिको विकास पनि हुनसक्दैन, उसको परिवारको पनि हुँदैन र त्यसले देशको लागि पनि केही हुँदैन भन्ने कुरालाई राम्रोसंग बुझेका दीपकले जेसीज अभियानमा युवामा भएका क्षेमताको उजागर गरी उनीहरुको व्यापार व्यवसाय, उद्यमलाई परिस्कृत गराउने संकल्प लिनुभएको छ । देशभित्रै रोजगारीका सम्भावनाहरू सिर्जना गरि उद्यमशीलताको माध्यमबाट देशको समृद्धिमा योगदान दिने उहाँको दृष्टिकोण प्रेरणादायी छ ।
प्रस्तुती : रमेश अर्याल