रुपन्देहीको सैनामैनामा भोली शुक्रबारदेखि राष्ट्रिय भलिबल प्रतियोगिता आयोजना गरिएको छ । दुधराक्ष युवा क्लवको आयोजनामा हुन लागेको सैनामैना दुधराक्ष कप क्लव स्तरीय राष्ट्रिय पुरुष भलिवल प्रतियोगितामा ७ टिमले प्रतिस्पर्धा गर्नेछन् ।
यहि फागुन ३ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा विभागीय टिम त्रिभूवन आर्मी क्लव, नेपाल पुलिस क्लव, ससत्र प्रहरीको नेपाल एपिएफ क्लव तथा गण्डकी प्रदेश भलिबल संघ, कोशी प्रदेश भलिबल संघ, गल्कोट भलिबल क्लव र मणिमुकुन्द भलिबल क्लव गरी ७ टिम सहभागि हुने बिहिबार पत्रकार सम्मेलन गरी जानकारी गराईएको हो ।
प्रतियोगितामा प्रथम हुने टिमलाई ५ लाख ५५ हजार ५५५ रुपैंया नगद पुरस्कार सहित शिल्ड, मेडल र प्रमाण पत्र प्रदान गरिने छ । त्यस्तै द्वितीय हुने टिमलाई ३ लाख ३३ हजार ३३३ रुपैंया, तृतीय हुने टिमलाई १ लाख ११ हजार १११ रुपैंया र सान्त्वना हुने टिमलाई ५५ हजार ५५५ रुपैंया नगद पुरस्कार सहित शिल्ड मेडल र प्रमाण पत्र प्रदान गरिने आयोजक दुधराक्ष युवा क्लवका अध्यक्ष किरण पोख्रेलले जानकारी गराउनु भयो ।
त्यसैगरी खेल अवधिभरमा उत्कृष्ट खेलाडिलाई १५ हजार ५५५ रुपैंया तथा उत्कृष्ट स्पाईकर, उत्कृष्ट डिफेन्डर, उत्कष्ट ब्लकर, उत्कृष्ट सर्भिस, उत्कृष्ट सेटर र उत्कृष्ट प्रशिक्षकलाई जनही ७ हजार ७७७ रुपैंया नगद पुरस्कार प्रदान गरिने छ ।
रुपन्देहीको सैनामैना नगरपालिका वडा नं. ६ मा २०६० सालमा स्थापना भएको क्लवले २०६२ सालमा साविकको दुधराक्ष गाविस वडा स्तरीय भलिबल प्रतियोगिता, २०६६ मा स्व. अमृत विष्ट स्मृती कप क्रिकेट प्रतियोगिता, २०७१ मा जिल्ला स्तरीय भलिबल प्रतियोगिता, २०७७ मा खुल्ला पुरुष व्याडमिण्टन प्रतियोगिता, २०७८ मा मेयर कप व्याडमिण्टन प्रतियोगिता र २०८० मा स्व. ढुण्डि थरुनी अन्तर जिल्ला स्तरीय भलिबल प्रतियोगिता गरिसकिएको क्लवका उपाध्यक्ष तथा प्रतियोगिताका संयोजक राजकुमार चौधरीले जानकारी गराउनु भयो ।
पत्रकार सम्मेलनमा सैनामैना नगरपालिकाका नगरप्रमुख फणेन्द्रप्रसाद शर्मा र उपप्रमुख विना रानाले सैनमैनामा राष्ट्रिय स्तरको प्रतियोगिता हुनु नगरकै गौरवको विषय रहेको भन्दै प्रतियोगिताको सफलताको लागि नगरपालिकाबाट सक्दो सहयोग गरिएको बताउनु भयो । उहाँहरुले भौतिक पूर्वाधारको विकाससंगै शिक्षा, स्वास्थ्य, खेलकुँद लगायतका सबैकुराको समानान्तर विकास गर्न सकियो भने समृद्धि हासिल हुने भएकाले नगरपालिकाले सोही अनुसार अगाडि बढेको बताउनु भयो ।
क्लवका सचिव तथा सचिवालय संयोजक पदम पाण्डेका अनुसार प्रतियोगिताको तयारी पुरा भएको छ । प्रतियोगिताको उद्घाटन लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री चेतनारायण आचार्यले गर्नुहुनेछ ।