अधिक तरलताको मात्रा घट्यो : व्याजदर स्थिर

1.3K

अधिक तरलताको मात्रा घट्यो : व्याजदर स्थिर

पछिल्लो एक महिनादेखि बैंक तथा वित्तिय संस्थामा ब्याजदर घट्ने क्रम रोकिएको छ । पुससम्म ब्याजदर घटाउने प्रतिस्पर्धा गरेका बैंकहरुले माघदेखि व्याजदर स्थिर राखेका छन् ।
बैंक तथा वित्तीय संस्थामा रहेको अधिक तरलता पनि साँघुरिन थालेको छ । पर्याप्त कर्जा प्रवाह हुन नसक्दा बैंकहरूमा तरलता थुप्रिँदै आएको थियो । तर, पुस महिनामा मात्रै बैंक तथा वित्तीय संस्थाबाट ८७ अर्ब रुपैयाँ कर्जा प्रवाह भएपछि अधिक तरलताको मात्रा घटेको छ ।
नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्म कुल २ खर्ब ६५ अर्ब ५६ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ । जसमध्ये पुसमा मात्रै ८७ अर्ब २७ करोड प्रवाह भएको छ ।
मासिक प्रवाह भएको यो कर्जा साढे तीन वर्षयताकै उच्च हो । नेपाल राष्ट्र बैंक आर्थिक अनुसन्धान विभाग प्रमुख गुणाकर भट्टका अनुसार पुसमा गएको कर्जा २०७८ असोज यताकै बढी हो । पछिल्लो समय राष्ट्र बैंकसँग संकलित तरलता रकम समेत घटेको छ । दुई महिना अघिसम्म ३ खर्ब ५० अर्ब रुपैयाँसम्म अधिक तरलता सञ्चित रहेकोमा अहिले २ खर्ब ५० अर्ब हाराहारीमा झरेको उहाँले बताउनु भएको छ ।