बुटवलमा बिद्यालय स्तरीय दोश्रो मेयर कप छात्र/छात्रा नकआउट फुटबल प्रतियोगिता हुने भएको छ । बुटवल उपमहानगरपालिकाको आयोजनामा आज साेमबारदेखि १० गतेसम्म चारपाला खेलमैदान र जबई खेलमैदानमा प्रतियोगिताको गर्न लागिएकाे हाे ।
फुटबल खेलको विकासका लागि विद्यालय स्तरबाटै खेलाडी उत्पादन गर्ने लक्ष्य सहित आयाेजना गरिएकाे प्रतियोगितामा छात्र तर्फ २५ र छात्रा तर्फ १० विद्यालयको सहभागिता हुने बुटवल नगर खेलकुद विकास समितिका संयोजक बोनिन पियाले जानकारी दिनु भयो ।
प्रतियोगितामा छात्रतर्फ बिजेतालाई १ लाख र उपबिजेतालाई ६० हजार नगदसहित शिल्ड मेडल र प्रमाणपत्र प्रदान गरिने छ । यस्तै छात्रातर्फ बिजेतालाई ६० हजार तथा उपबिजेतालाई ३० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने छ ।
प्रतियाेगिताकाे बारेमा जानकारी गराउन गरिएकाे पत्रकार सम्मेलनमा नगर प्रमुख खेलराज पाण्डेयले चालु आर्थिक वर्षमा नगर भित्र ५८ वटा प्रतियोगिता सञ्चालन गर्न लागिएको बताउनु भयाे । उहाँका अनुसार तिलोत्तमा गोल्डकपसहित राष्ट्रियदेखि विद्यालय स्तरका खेलकुदका गतिविधि सञ्चालनको लागि नगरले ४ करोड बजेट बिनियोजन गरेकाे छ ।