प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनी प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै संघीयताले विकासको ढोका खोलेको र तीनै तहका सरकारबीच सहकार्य आवश्यक रहेकोमा जोड दिनु भएको छ ।
प्रधानमन्त्री ओलीले लुम्बिनी प्रदेश प्राकृतिक, सांस्कृतिक तथा आर्थिक रूपमा समृद्ध बन्दै गएको र यहाँको राजधानी सफलतापूर्वक कार्यान्वयनमा आएको बताउनुभयो । संघीयताले विकास सम्भव छ भन्ने उदाहरण लुम्बिनी प्रदेशले प्रस्तुत गरिरहेको उहाँको भनाइ छ ।
उहाँले हालै निर्माण सम्पन्न अन्तर्राष्ट्रिय विमानस्थल, फराकिलो सडक, तथा पूर्वाधार विकासलाई प्रदेशको प्रगतिको सूचकको रूपमा व्याख्या गर्नुभयो । साथै, सिद्धबाबा सुरुङ मार्ग लगायतका योजनाहरूले यातायात सहज बनाउने बताउँदै, रामपुर-कपुरकोट सडक निर्माणमा पनि ध्यान दिइएको जानकारी गराउनुभयो ।
प्रधानमन्त्री ओलीले लुम्बिनी प्रदेशलाई कृषि, पर्यटन, र औद्योगिक केन्द्रका रूपमा अघि बढाउने योजनाबारे चर्चा गर्दै, मानव-केन्द्रित विकासलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो। `यदि मानव जीवन छैन भने विकासको कुनै अर्थ रहँदैन´उहाँले भन्नुभयो ।
सिंचाइ आयोजना सफल बनाउँदै कृषिलाई प्रवर्द्धन गर्नुपर्ने र वातावरण संरक्षणसँगै विकासका कार्यहरू अघि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो । प्रदेशको समग्र विकासका लागि केन्द्र सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्री ओलीले स्पष्ट पार्नुभयो ।

सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले प्रदेश सरकारले १ हजार २ सय शय्याको लुम्बिनी प्रादेशिक अस्पतालको भवन निर्माण सुरु गरेकोमा प्रशंसा व्यक्त गर्नुभयो । यो अस्पताल भवन प्रदेश सरकारको ६ अर्ब १८ करोड रुपैयाँ लागतमा बन्न लागेको पहिलो ठूलो पूर्वाधार हो । तर, केन्द्र सरकारले १ हजार शय्याको अस्पताल पूर्ण रूपमा सञ्चालन गर्न नसकेको उल्लेख गर्दै, संघ, प्रदेश, र स्थानीय सरकारबीच सहकार्य आवश्यक रहेको बताउनुभयो ।
प्रधानमन्त्री ओलीले प्रविधिको सही सदुपयोगमा पनि जोड दिनुभयो । उहाँले संघीयता कार्यान्वयनका क्रममा देखिएका चुनौतीहरूलाई पार गर्न तीनै तहका सरकारहरूबीच समन्वय र सहकार्य अपरिहार्य रहेकोमा जोड दिनुभयो ।
साथै, उहाँले प्रदेशहरूले कानूनी संरचना निर्माण गर्दा संघीय सरकारद्वारा स्थापित मौजूदा कानूनहरूलाई आधार मानेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।