भारतको कुम्भ मेला स्नान गरेर फर्किदै गर्दा सवारी दुर्घटनामा परी रुपन्देहीको देवदहका तीन जनाको मृत्यु भएको छ । सोही दुर्घटनामा परी अन्य पाँच जना घाईते भएका छन् ।
महाकुम्भ मेला स्नान गरेर फर्किएका तिर्थालु सवार युपी ५३ एफडी ४२८८ नम्बरको भारतीय गाडी भारत उत्तर प्रदेशको आजमगढ बाराणसी रोडको डिभाइडरमा ठोक्किएर दुर्घटना दुर्घटना हुँदा रुपन्देहीको देवदह ९ निवासी ४५ वर्षीय गणेश खनाल, उनकी श्रीमती ३५ वर्षीया दीपा खनाल र ४० वर्षीया गिता शर्माको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी चालक भारतीय नागरिक रितेश दुबे सहित देवदह–९ भलुहीकी कोपिला पोखरेल, उनका छोरा सुभम पोखरेल, आविष्कार पराजुली र यमकलादेवी मगर घाईते भएका छन् । उनीहरुलाई स्थानीय अस्पतालमा सामान्य उपचारपछि थप उपचारको लागि गोरखपुर पठाइएको भारतीय प्रहरीबाट जानकारी आएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
फागुन ३ गते देवदहबाट महाकुम्भ मेला स्नान गर्न पाँचवटा गाडीमा ३५ जना भारत गएका थिए । कुम्भ मेला स्नान गरी नेपाल फर्किने क्रममा चालक सहित ८ जना सवार उक्त गाडी दुर्घटना भएको हो ।