बुटवलमा महिला भलिबल प्रतियोगिता सुरु : १४ विद्यालका छात्रा टिम सहभागि

1.3K

बुटवलमा महिला भलिबल प्रतियोगिता सुरु : १४ विद्यालका छात्रा टिम सहभागि

बुटवलमा महिला भलिबल प्रतियोगिता सुरु भएको छ । जीपी कोइराला स्मृति प्रतिष्ठानको आयोजनामा सिद्देश्वरी माध्यमिक विद्यालयको प्राङ्गढमा सुरु गरिएको महिला भलिबल रनिङ शिल्ड प्रतियोगितामा यस क्षेत्रका १४ विद्यालयका छात्राहरुको टिम सहभागि छन् ।
प्रतियोगिताको बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले उद्घाटन गर्नुभएको हो । त्यस अवसरमा बोल्दै उहाँले बुटवललाई खेलकुदको हवको रुपमा विकास गर्नका लागि नगरपालिकाले पूर्वाधार विकास र खेलकुदका गतिविधिलाई समानान्तर रुपमा अगाडि बढाएको बताउनु भयो । यो प्रतियोगिताका लागि बुटवल उपमहानगरपालिकाले ४ लाख रुपैंया आर्थिक सहयोग प्रदान गरेको छ ।
कार्यक्रममा बोल्दै जीपी कोइराला स्मृति प्रतिष्ठानका अध्यक्ष रामबहादुर कार्कीले राष्ट्रिय खेल भलिबलको प्रवद्र्धन र भलिबल खेलमा महिलाको आकर्षण बढाउनका लागि शिखर पुरुष गिरिजाप्रसाद कोइरालाको स्मृतिमा प्रतियोगिता आयोजना गरिएको बताउनु भयो । यो प्रतियोगिता १३ औं संस्करणको प्रतियोगिता हो ।

प्रतियोगिताको उद्घाटन कार्यक्रममा प्रतिष्ठानका सल्लाहकार चोपनारायण श्रेष्ठ, नेपाली काँग्रेसका नेता युवराज गिरी, नेपाली काँग्रेस बुटवल नगर समितिका उपसभापति ज्योती भण्डारी, सिद्देश्वरी माध्यमिक विद्यालयका प्रधानाध्यापक दिनानाथ गिरी, प्रतिष्ठानका उपाध्यक्ष काजिमान श्रेष्ठ, सचिव गंगा पन्थी लगायतले भनाई राख्नुभएको थियो ।
प्रतियोगितामा सामुदायिक विद्यालयका ८ र संस्थागत विद्यालयका ६ टिम सहभागि छन् । प्रतियोगितामा सामुदायिक विद्यालयहरुको पनि सहभागिता बढाउनको लागि सामुदायिक र संस्थागत विद्यालयलाई छुट्टा छुट्टै पोलमा राखेर प्रतियोगिता गराईएको प्राविधिक सदस्य यमप्रसाद श्रेष्ठले बताउनु भयो ।
उहाँका अनुसार आज शनिबार क्वाटर फाईनल सम्मका खेल खेलाईने छ भने आईतबार सेमिफाईनल र फाईनलमा प्रतिस्पर्धा गराईने छ ।