शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको स्थापना दिवसको अवसरमा आयोजना गरिएको टेन के दौड प्रतियोगितामा खुल्लामा पुरुषतर्फ मिङमार सिङगी तामाङ र महिलातर्फ सन्तोषी श्रेष्ठले उपाधि जितेका छन् ।
शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको १७ औं वार्षिकोत्सवको अवसरमा आईतबार आयोजना गरिएको प्रतियोगितामा १ हजार ६ सय जनाले नाम दर्ता गराएकामा ६ सय जनाले प्रतिस्पर्धा गरेको बैंकले जनाएको छ । बैंकको प्रधान कार्यालय कालिकानगरबाट सुरु भएको प्रतियोगिता अन्तरगतको दौड मणिग्राम हुँदै पुन सोही स्थानमा आएर सकिएको थियो ।
‘रन टु शाइन’ नाराका साथ सम्पन्न प्रतियोगितामा च्याम्पियन बन्दै दुवै खेलाडीले एक–एक लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन् ।
मिङमारले निर्धारित दुरी ३१ मिनेट ५३ सेकेन्डमा पुरा गरे भने सन्तोषीले ३६ मिनेट २१ सेकेन्डमा पुरा गरेकी थिइन् । प्रतियोगितामा पुरुषतर्फ नागेश्वर ऐर दोस्रो, गणेशसिंह रावत तेस्रो, सन्जीव नेपाली चौथों र अक्कल बडुवाल पाँचौं भए । त्यस्तै महिला तर्फ पूर्णराज्य लक्ष्मी न्यौपाने दोस्रो, पुष्पा भण्डारी तेस्रो, आशा रावल चौथों र नारायणी भण्डारी पाँचौं बनिन् ।
दुवै विधाका दोस्रोलाई ४० हजार, तेस्रोलाई २० हजार, चौथों हुनेलाई १५ हजार र पाँचौं हुनेलाई १० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको छ ।
यस्तै, स्थानीय पाँच किलोमिटर दौडमा शिव रायमाझी र पुजा पछाई विजेता बनेका छन् । पुरुषमा अजय पाण्डे दोस्रो, मुकेश थारु तेस्रो र प्रेमलाल कोहार चौथों बने । महिलातर्फ तेजमाया कुँवर दोस्रो, प्रकृति घिमिरे तेस्रो र प्रतिभा केवर चौथौं बने ।
यस्तै भेट्रान्समा महिलातर्फ मनकुमारी रायमाझी पहिलो र गोमा सुबेदी दोस्रो बनेका छन् । पुरुषतर्फ युवबहादुर राना प्रथम, गोबिन्द थापा दोस्रो, केशरसिंह महत तेस्रो र टेकबहादुर बुढाथोकी चौथों भएका छन् । दुवै विधाका विजेताले १५ हजार, दोस्रोले १० हजार, तेस्रोले ५ हजार, चौथोंले २ हजार ५ सय रुपैयाँ प्राप्त गरेका छन् ।
प्रतियोगितालाई राष्ट्रिय खेलकुद परिषद् र नेपाल एथलेटिक्स एसोसियसनले स्वीकृति प्रदान गरेका थिए । विजयी धावकहरुलाई प्रतियोगिताका सद्भावना दुत अन्तर्राष्ट्रिय ओलम्पिक विजेता धावक बैकुण्ठ मानन्धर, प्रदेश सांसद एवं पुर्व मन्त्री विष्णु पन्थी, बैंकका अध्यक्ष थानेश्वर पौडेल र बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले पुरस्कार प्रदान गर्नुभयो ।
काठमाडौं बाहिर केन्द्रीय कार्यालय रहेको लुम्बिनी प्रदेशको एक मात्र राष्ट्रियस्तरको बिकास यो बैंकको अधिकृत पूँजी रु ८ अर्व, जारी पुंजी ४ अर्व ८७ करोड र चुक्ता पूँजी पनि ४ अर्व ८७ करोड रहेको छ । २०८१ पौष मसान्तको अपरिष्कृत वित्तिय विवरण अनुसार निक्षेप संकलन रु. ६९ अर्ब ७२ करोड (वचत निक्षेप ३६.९३ प्रतिशत, मुद्धती निक्षेप ५६.७४ प्रतिशत, कल चल्ती तथा अन्य ६.३३ प्रतिशत रहेको छ । त्यस्तै कर्जा लगानीतर्फ रु. ५७ अर्ब ४९ करोड रहेको छ ।
बैंकले आर्थिक बर्ष २०८०/०८१ मा इण्डियन च्याम्बर अफ कमर्सवाट आयोजित दोस्रो इमर्जिङ एशिया बैंकिङ अवार्डमा बेस्ट पर्फमेन्स अन प्रोफिटाबिलिटी, बेस्ट पर्फमेन्स अन ग्रोथ र बेस्ट बैंक शिर्षकमा रनर उपाधिबाट सम्मानित भएको थियो ।
यस्तै नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाद्वारा नेसनल बेस्ट प्रेसिडेन्टल एनुअल रिपोर्ट अवार्ड २०२३ मा सर्टिफिकेट अफ मेरिट र न्यु बिजनेश एज प्रा.लि.बाट बेस्ट म्यानेज्ड डेभलपमेन्ट बैंक अफ दि इअर २०२४ बाट सम्मानित भएको थियो ।