नेपाली काँग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले पार्टी भित्रको आन्तरिक एकतामा जोड दिनुभएको छ । उहाँले कम्युनिस्टहरूसँग लड्नुपर्नेमा आफैँभित्र लडाइँ हुनु दर्भाग्य भएको पनि बताउनु भयो ।
नेपाली काँग्रेस सूचना सञ्चार तथा प्रचार विभागले बुटवलमा आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले पार्टीका नेता कार्यकर्ताको एकता विना एक्लै चुनाव लड्ने नीति लिएर मात्रै चुनाव नजितिने बताउनु भयो ।
उनले एक्लै चुनाव लड्नका लागि जनताको तागत लिएर कांग्रेस अगाडि बढ्दै आएको चर्चा गर्दै अब आपसमा लडाइँबन्द गर्नुपर्ने भनाई राख्नुभयो । एमाले, माओवादी, जसपाहरूसँग लड्नुपर्नेछ । यस्तोमा कांग्रेस एक–आपसमा लड्न हुँदैन, उहाँले भन्नुभयो ।
महाधिवेशन सकिएपछि महाधिवेशनका तिक्तताहरू पालेर बस्न नहुने बताउँदै उहाँले अब तिक्तता पालेर बसे काँग्रेस कमजोर हुने भएकाले तिक्तता त्यागेर पाटीलाई बलियो बनाउन लाग्नुपर्नेमा जोड दिनुभयो ।
नेता कोइरालाले मुलुक बनाउनका लागि युवाहरूमा सोच परिवर्तन र मुलुकमा सुशासन स्थापित गर्नुपर्नेमा जोड दिनुभयो । राष्ट्रियता र लोकतन्त्रको पहरेदार काँग्रेस रहेको र जनतासँग जोडिएर काममा लाग्न कार्यकर्तालाई निर्देशन दिनुभयो ।
कार्यक्रममा अर्का केन्द्रिय सदस्य बालकृष्ण खाँणले काँग्रेसले सबैलाई समेटेर अगाडि बढ्दै आएको भन्दै मुलुक निर्माणको काँग्रेसको विकल्प नरहेको भनाई राख्नुभयो । उहाँले पार्टीको महाधिवेशन निर्धारित मितिभन्दा दायाँबायाँ हुन नहुने पनि बताउनु भयो ।
कार्यक्रममा सहमहामन्त्री जीवन परियार, केन्द्रिय सदस्यहरू डा.मिनेन्द्र रिजाल, मिन विश्वकर्मा, नैनसिंह महर, गगा शाही, राजु खनाल, भुवन श्रेष्ठ, खेलराज पाण्डेय, सहजकर्ता द्वय जगत नेपाल, हरिबहादर थापा, सुचना तथा सञ्चार बिभागका सदस्य कमला अधिकारी लगायतले भनाई राख्नुभएको थियो ।