‘समिटले नेपाली प्रविधिलाई विश्व बजारमा जोड्नेछ’

1.3K

‘समिटले नेपाली प्रविधिलाई विश्व बजारमा जोड्नेछ’

कम्प्युटर एशोसियसन नेपाल महासंघ (क्यान) रुपन्देहीको आयोजनामा भोली (सोमबार)देखि बुटवलमा दुई दिने वि टु जी (विजनेश टु कस्टमर) समिट हुँदैछ । बुटवलको मिलनचोक स्थित सिद्धार्थ कटेजमा हुने समिटमा प्रविधि क्षेत्रमा नवीनतम विकासलाई प्रवद्र्धन गर्ने लक्ष्य लिईएको छ । समिटमा विद्यार्थी, व्यवसायी, नीति निर्माताहरू र प्रविधि क्षेत्रका विज्ञहरूको सहभागिता रहने समिटका बारेमा क्यान रुपन्देहीका अध्यक्ष जीवन अधिकारीसंग गरिएको कुराकानी ।

समिटको तयारी कस्तो छ ?

हामी अहिले अन्तिम तयारीको चरणमा छौँ । स्टलहरूको निर्माण भईसकेको छ । प्रदर्शनीका लागि आउने विभिन्न कम्पनी र स्टार्टअपहरूले पनि आफ्नो तयारी पूरा गरिरहेका छन् । समिटलाई व्यवस्थित बनाउन विभिन्न क्षेत्रका विज्ञहरूसँग समन्वय गरिएको छ । सहभागीहरूको सहजताका लागि जानकारी मूलक सत्र, प्रदर्शनी र छलफल कार्यक्रमको तालिका तयार भइसकेको छ । प्रविधिमा चासो राख्ने विद्यार्थी, स्टार्टअप, व्यवसायी, र नीति निर्माताहरूलाई लक्षित गरेर कार्यक्रमको संरचना तयार पारिएको छ ।

समिटमा के के कुराहरु रहनेछन् ?

नेपाली प्रविधि बजारलाई विश्वव्यापी प्रविधिहरूसँग जोड्ने एउटा अवसर हो । सहभागी कम्पनीहरूले आफ्ना नवीनतम प्रविधि तथा सेवाहरू प्रस्तुत गर्नेछन् । जसले नेपाली आईसीटी क्षेत्रलाई अझ गतिशील बनाउनेछ । हाम्रो समिटमा हालसम्म २३ वटा प्रतिष्ठित कम्पनीहरू सहभागी हुनेछन् । कम्पनीहरूको छनोट प्रक्रियामा विशेष ध्यान दिइएको छ । हामीले प्राथमिकता दिएका मुख्य मापदण्डहरू नवीन प्रविधिमा केन्द्रित कम्पनीहरू जसले प्रविधिको क्षेत्रमा नयाँ आयाम थप्न सक्छन्, गुणस्तरीय ब्रान्डहरू जसले ग्राहकहरूलाई भरपर्दो सेवा र उत्पादन दिन सक्छन्, पुराना प्रविधि होइन, नयाँ प्रविधि ल्याउने व्यवसायहरूलाई प्राथमिकता दिइएको छ ।

समिटमा चासो राख्ने व्यवसायी र विद्यार्थीहरुलाई कसरी सहभागि गराउनु हुन्छ ?

यो समिट प्रविधि, स्टार्टअप, र नवप्रवर्तनमा रुचि राख्ने जोसुकैका लागि खुला छ । समिटमा विद्यार्थी, व्यवसायी, तथा अन्य चासो राख्ने व्यक्तिहरूले स्वतन्त्र रूपमा सहभागिता जनाउन सकुन् भनेर नै सबैलाई निःशुल्क प्रवेश गराउने छौं । विद्यार्थीले आईटी, स्टार्टअप, एआई, साइबर सुरक्षा र अन्य आधुनिक प्रविधि सम्बन्धी जानकारी प्राप्त गर्न सक्छन् । उनीहरूलाई अग्रणी प्रविधि कम्पनीका प्रतिनिधिसँग प्रत्यक्ष संवाद गर्ने अवसर पनि प्रदान गरिनेछ । व्यवसायीहरूका लागि यो समिट नयाँ प्रविधिहरू बुझ्ने, व्यवसायमा लागु गर्न सकिने उपायहरू खोज्ने, तथा सम्भावित साझेदारसँग नेटवर्किङ गर्ने उत्कृष्ट अवसर हुनेछ ।

कार्यक्रम गर्दा चुनौती पनि आईपर्छन् । तपाईलाई त्यस्ता केही चुनौती आयो की आएन ?

कुनै पनि ठूलो कार्यक्रम आयोजना गर्दा विभिन्न चुनौतीहरू आउँछन्, र हामी पनि केही समस्याहरू सामना गरिरहेका छौँ । हाल हाम्रो प्रमुख चुनौती आर्थिक पक्ष हो । यसलाई समाधान गर्न हामीले सहभागी ब्रान्डहरूसँग समन्वय गरिरहेका छौँ । उनीहरू यस कार्यक्रमलाई प्रवद्र्धन गर्नका लागि इच्छुक छन् । र हामीले उनीहरूलाई खर्च व्यवस्थापनमा सहयोग गर्ने गरी सहकार्य गरेका छौँ । त्यस्तै, नीति निर्माण तहमा रहेका व्यक्तिहरूलाई कार्यक्रममा ल्याउनु अर्को चुनौती हो । विशेष गरी स्थानीय पालिकाका प्रमुखहरूलाई समिटमा उपस्थित गराउने हाम्रो मुख्य लक्ष्य हो । तर कतिपय पालिकाका प्रमुखहरूसँग प्रत्यक्ष भेट गर्न कठिन भएकोले, हामीले इमेल र अन्य माध्यमबाट सम्पर्क गरेका छौं । कार्यक्रमको बारेमा जानकारी गराएका छौं । अहिलेसम्म राम्रै प्रतिक्रिया आएको छ । धेरै नीति निर्माता समिटमा उपस्थित हुने आशा गरिएको छ ।

कार्यक्रमको व्यवस्थापन, सुरक्षा व्यवस्थापन र अन्य तयारीहरु कसरी मिलाउनु भएको छ ?

समिटलाई व्यवस्थित बनाउन विशेष टिम बनाएर खटाईएको छ । हामीले क्यान रुपन्देहीका पदाधिकारी सदस्यहरुलाई विषयगत जिम्मेवारी प्रदान गरिएको छ । सबैले आफ्नो आफ्नो जिम्मेवारी अनुसारका कामहरु सम्पादन गर्नुभएको छ । जस्तै नेटवर्किङ, प्रोजेक्सन सिस्टम, र अन्य डिजिटल प्रविधिहरूको जिम्मा लिने, समिट स्थलमा सुरक्षित वातावरण बनाउनका लागि स्थानीय प्रहरी, ट्राफिक व्यवस्थापन, तथा स्वयंसेवकहरूलाई सम्बन्धित जिम्मेवार प्राप्त पदाधिकारी सदस्यहरुले समन्वय गर्नुभएको छ ।

अन्त्यमा भन्नुपर्ने कुरा केही छ की ?

समिट सूचना प्रविधिसंग सम्बन्धित छ । यसको जानकारीले सबैलाई राम्रो गर्दछ । यस कारण सबैलाई समिटमा आएर अवलोकन गरिदिनुहुन र नयाँ नयाँ प्रविधिका बारेमा जानकारी लिएर समिटको लाभ लिनको लागि विनम्र अनुरोध गर्दछु । त्यसैगरी समिटलाई सफल बनाउन लाग्नुहुने कार्यसमितिका पदाधिकारी सदस्यहरु, व्यवसायी र सञ्चार जगतलाई धन्यवाद व्यक्त गर्दछु ।