बुटवलमा चैत ९ देखि तिलोत्तमा गोल्डकप हुँदै

1.3K

बुटवलमा चैत ९ देखि तिलोत्तमा गोल्डकप हुँदै

यहि चैतको ९ गतेदेखि बुटवलमा २३ औं संस्करणको तिलोत्तमा गोल्डकप फूटवल प्रतियोगिता गर्न लागिएको छ । रुपन्देही जिल्ला फूटवल संघको आयोजना तथा बुटवल उपमहानगरपालिकाको संरक्षक र यशोदा फुड्स प्रालि र त्रिमुर्ति ईण्डस्ट्रिज प्रालिको मुख्य प्रायोजमा यहि चैतको ९ देखि १६ गतेसम्म रुपन्देहीको पुरानो र प्रतिष्ठित तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिता गर्न लागिएको हो ।
रुपन्देही जिल्ला फूटवल संघले आईतबार बुटवल उपमहानगरपालिकामा पत्रकार सम्मेलन गरी प्रतियोगिताको बारेमा जानकारी गराएको हो । प्रतियोगितामा ८ टिम सहभागि हुने प्रतियोगिताका संयोजक तथा रुपन्देही जिल्ला फूटवल संघका अध्यक्ष लोक पुनले जानकारी गराउनु भयो । उहाँका अनुसार प्रतियोगितामा तयारीका कामहरु पुरा भएका छन् ।
प्रतियोगिताको उपाधि विजेतालाई १२ लाख १२ हजार २२२ रुपैयाँ नगद पुरस्कार सहित गोल्डकप र प्रमाण पत्र प्रदान गरिने छ भने उपविजेतालाई ६ लाख ६ हजार ६६६ रुपैंया नगद पुरस्कार सहित प्रमाण पत्र प्रदान गरिने प्रतियोगिताका संयोजक पुनले जानकारी गराउनु भयो । त्यस्तै प्रतियोगिताका सर्बोत्कृष्ट खेलाडिलाई एउटा मोटरसाईकल वा स्कुटर प्रदान गरिने छ भने विधागत उत्कृष्ट खेलाडीहरु गोलरक्षक, डिफेन्डर, मिड फिल्डर, फरवार्ड र कोचलाई जनही ३१ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने छ । त्यस्तै प्रत्येक खेलमा म्यान अफ द म्याच हुने खेलाडिलाई ११ हजार १११ रुपैयाँ नगद पुरस्कार प्रदान गरिने छ ।
प्रतियोगितामा आयोजक रुपन्देही–११, संकटा फूटवल क्लव, मच्छिन्द्र फूटवल क्लव, चर्च ब्याईज क्लब, थ्रि स्टार क्लब, नेपाल आर्मी क्लब, नेपाल पुलिस क्लब, एपिएफ क्लब, भारतको एडोर्न गडवाल स्पोर्टिङ क्लब, उज्वेकस्थान टिमलाई सहभागीताको लागि पत्राचार गरिएको प्रतियोगिताका सहसंयोजक सुजन पुनले जानकारी गराउनु भयो । प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन (अघिल्लो वर्षको विजेता) मनाङ मर्याङदी क्लब भने सहभागि नहुने उहाँले बताउनु भयो ।
यो प्रतियोगिताको लागि संरक्षक बुटवल उपमहानगरपालिकाले ४० लाख रुपैंया प्रदान गरेको छ । पत्रकार सम्मेलनमा नगरप्रमुख खेलराज पाण्डेयले बुटवललाई खेलकुँदको हवको रुपमा विकास गर्नको लागि नगरपालिकाले विशेष प्राथमिकता दिइएको बताउनु भयो । उहाँले बुटवलमा हुने ठूला राष्ट्रिय स्तरका प्रतियोगिताले नगरको गरिमा पनि बढाउने र खेलकदको हवको रुपमा विकास गर्न पनि मद्धत गर्ने विश्वास व्यक्त गर्नुभयो । नगरप्रमुख पाण्डेले बुटवललाई खेलकुदको हवको रुपमा विकास गर्नको लागि नगरपालिकाले आफैले ५८ वटा खेल सञ्चालन गरिएको बताउँदै त्यसबाहेक पनि क्लव लगायतका अन्य खेलका गतिविधिमा समेत सहयोग प्रदान गरिएको जानकारी गराउनु भयो । उहाँका अनुसार नगरपालिकाले यो वर्ष खेलकुँदका कार्यक्रमका लागि ४ करोड बढी लगानी गरेको बताउँदै त्यसबाहेक पूर्वाधार विकासमा पनि उत्तिकै ध्यान दिईएको बताउनु भयो । प्रतियोगितामा झण्डै १ करोड ९ लाख रुपैंया खर्चानुमान गरिएको छ ।