कम्प्युटर एशोसियसन नेपाल महासंघ (क्यान) रुपन्देहीको आयोजनामा नेपालमै पहिलो पटक बुटवलमा बिटुसी (विजनेश टु कस्टमर) समिट सुरु भएको छ । २ दिनसम्म सञ्चालन गरिने समिटको सोमबार बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले डिजिटल हस्ताक्षर गरेर उद्घाटन गर्नुभयो ।
बुटवलको सिद्धार्थ कटेजमा आयोजना गरिएको समिटको उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख पाण्डेयले अवको युग सूचना प्रविधिको युग भएको बताउनु भयो । सूचना प्रविधि विना अबको युग परिकल्पना गर्न नसकिने बताउँदै उहाँले पछिल्लो प्रतिस्पर्धी समाजमा सूचना प्रविधि बिनाको औपचारिक कोरा शिक्षाले केही गर्न नसक्ने धारणा राख्नुभयो ।
मेयर पाण्डेले बुटवलमा सूचना प्रविधिको क्षेत्रमा नयाँ अभ्यासलाई लागू गर्दै अगाडी बढेको बताउँदै घरबाट नै सेवा ग्राहीले सेवा लिन पाउने गरी पोर्टल सहित सफ्टवेर विकास गरेर काम गर्दै आएको जानकारी गराउनु भयो । उहाँले नक्सा पास, सिफारिस, राजश्व लगायतका प्रणाली नगरपालिकाले विस्तारै डिजटललाईजेशनमा अगाडी बढेको भनाई राख्नुभयो ।
कार्यक्रममा उपप्रमुख सावित्रादेवी अर्यालले महिला उद्यमशिलता सहितको सूचना प्रविधिमा जोड दिनुभयो । कार्यक्रममा क्यान महासंघ नेपालका पुर्व केन्द्रीय अध्यक्ष रञ्जीतकुमार गोदारले डिजिटल नेपाल निर्माणमा सबैजनाको विचमा सहकार्य जरुरी रहेको बताउनु भयो । यस्तै बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीका अध्यक्ष हरिप्रसाद अर्यालले सूचना प्रविधि क्षेत्रमा नीजि क्षेत्रको ठुलो योगदान रहेको भन्दै सरकार, नीजी क्षेत्रको विचमा सहकार्य आवश्यक रहेको भनाई राख्नुभयो ।
क्यान महासंघ रुपन्देहीका अध्यक्ष जीवन अधिकारीका अनुसार समिटमा हार्डवेयर, पावर सोलुसन, सफ्टवेयर र विभिन्न इन्नोभेसन प्रदर्शन गरिएको छ । वलोकनकर्तालाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । कार्यक्रम संयोजक तथा क्यान रुपन्देहीका उपाध्यक्ष विरबहादुर क्षेत्रीका अनुसार समिटमा ५ हजार दर्शकले अवलोकन गर्नेछन् ।
समिटमा प्राविधिक क्षेत्रमा अध्ययन गरेका विद्यार्थी र नीति निर्माण तहका जनप्रतिनीधि तथा अधिकारीहरु तथा उपभोक्ताहरु सहभागि हुने पनि उहाँले जानकारी गराउनु भयो । क्यान रुपन्देहीका सचिव सुरेशचन्द्र भट्टराईका अनुसार समिटमा ब्रान्ड लक्षित कार्यक्रम हुनेछन् । ब्राण्डको प्रमोसन मात्रै गर्नेगरी कार्यक्रमको मोडेल बनाईएकाले खरिद बिक्रि हुनेछैन । त्यस्तै समिटमा उत्पादक तथा इम्पोटर बिच अन्तरक्रिया कार्यक्रम गरिने छ । समिटमा नेपाल टेलिकमले निःशुल्क सिम वितरण गर्नेछ भने आफ्नो सिमकार्डलाई ई–सिममा परिवर्तन गर्न सकिने छ ।