रुपन्देहीको तिलोत्तमा नगरपालिका सरसफाईमा विश्वमा ४० औं स्थानमा छनाैट भएकाे छ । तिलाेत्तमा जनसहभागितामा सञ्चालित सरसफाई तथा हरियाली प्रवर्द्धन अभियानमा उत्कृष्ट ४० औं स्थानीय तहका रुपमा छनोट भएको हाे ।
इन्टरनेसनल अब्जरभेटरी अन पार्टिसिपेसन (ओआइडिपी) नामक अन्तर्राष्ट्रिय संस्थाले विश्वभरका स्थानीय र प्रदेश सरकारबीच आयोजना गरेकोे अवार्ड प्रतियोगितामा नागरिक सहभागितामा असल अभ्यास गर्ने तिलोत्तमा नगरपालिका पहिलाे चरणमा उत्कृष्ट ४० स्थानमा छनोट भएको नगरप्रमुख रामकृष्ण खाँणले जानकारी गराउनु भयाे ।
अवार्डका लागि विश्व भरका ३७ देशका १३७ वटा स्थानीय र प्रदेश सरकारले आवेदन दिएका थिए । ओआइडिपीले आफ्नो वेबसाइटमार्फत विभिन्न पांच वटा विषयमा आवेदन माग गरेकामा नेपालबाट भने तिलोत्तमा नगरपालिकाले मात्रै सहभागिता जनाएको थियो ।
याे प्रतियाेगितामा भाग लिने तिलोत्तमा नेपालको मात्र नभई सार्ककै एक मात्रै पालिका हाे । नगरप्रमुख खाँणले अनलाइन भोटिङ खुला भएपछि तिलोत्तमालाई मत दिएर अन्तर्राष्ट्रिय जगतमा थप चिनाउन नेपालभर र विश्वभर रहेका नेपालीलाई आग्रह गर्नुभयाे ।
ओआइडिपीले मार्च अन्तिमभित्रै एक हप्ताको अवधि निर्धारण गरी अनलाइन भोटिङ खुला गर्ने जानकारी गराएको छ । ओआइडिपीको वेबसाइटमै गएर मत दिन सकिने छ ।
छनोट भएका ४० स्थानीय र प्रदेश सरकारबीच अनलाइन भोटिङको ५० अंक र निर्णायकले ५० अंक प्रदान गर्नेछन । आगामी मे महिनाको २१ देखि २३ सम्म अर्जेन्टिनाको कोर्डोबामा हुने ओआइडिपी सम्मेलनमा अवार्ड विजेता घोषणा गरिने छ ।
तिलोत्तमा नगरपालिकामा २०७४ सालदेखि हरेक १५ दिनमा जनसहभागितामा सरसफाइ तथा हरियाली प्रवर्द्धन अभियान निरन्तर चलिरहेको छ । उक्त अभियानको १४० औं शृङ्खला सम्पन्न भएको छ ।