आज देशभरका पहाडी तथा हिमाली जिल्लाहरुमा हार्षोल्लासका साथ फागु अर्थात होली पर्व मनाईँदै छ । त्यस्तै भोली तराईका जिल्लाहरुमा होली मनाईँदैछ । सरकारले आज पहाड र भोली तराईका जिल्लामा सार्वजनिक बिदा दिएको छ ।
हरेक वर्ष फाल्गुण शुक्ल पूर्णिमाको दिन पहाडी तथा हिमाली जिल्लामा र त्यसको भोलिपल्ट तराई तथा भित्री मधेशका जिल्लाहरूमा होली पर्व हर्षोल्लासपूर्वक मनाउने गरिन्छ । असत्यमाथि सत्यको, अन्यायमाथि न्यायको र दुराचारमाथि सदाचारको विजय भएको खुसियालीमा मनाइने होली पर्वमा सम्पूर्ण रिसराग परित्याग गरी प्रेमभाव र आत्मीयताका साथ आफन्तजन एवं साथीसङ्गीहरूसँग एकापसमा अबिर तथा रङ दलेर रमाइलो गर्ने परम्परा छ ।
होलीलाई आपसी मेलमिलाप र सद्भावनाको सन्देश दिने पर्वको रुपमा मनाउने परम्परा छ । यस अवसरमा राष्ट्रपति, प्रधानमन्त्री, प्रदेशका प्रमुखहरु र मुख्यमन्त्रीहरुले समेत शुभकामना सन्देश दिएका छन् ।