‘मापदण्ड पुरा गरौं : रात्रीकालिन बजार सञ्चालन गर्न समस्या हुँदैन’

1.3K

‘मापदण्ड पुरा गरौं : रात्रीकालिन बजार सञ्चालन गर्न समस्या हुँदैन’

रुपन्देहीका होटेल तथा रेष्टुरेन्ट व्यवसायीले बुटवलसहित जिल्लाका प्रमुख बजारमा रात्रीकालीन व्यवसाय सञ्चालनको अनुमति दिन रुपन्देही प्रशासनसँग माग गरेका छन् । होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रूपन्देहीले बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका, सिद्धार्थ नगरपालिका र सैनामैना नगरपालिकाका प्रमुख, जिल्लाका चार वटै सुरक्षा निकाय प्रमुखहरुको रोहबरमा प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेलाई ज्ञापनपत्र बुझाउँदै रात्रीकालीन व्यवसाय सञ्चालनको अनुमति दिन माग गरेका हुन् ।
संघका अध्यक्ष लेखनाथ भण्डारीले रात्रीकालिन बजारका लागि आवश्यक पुर्वाधारहरु बनिसकेकाले आर्थिक मन्दी र प्रदेश राजधानी दाङ सरेपछि खस्केको रुपन्देहीको बजारलाई चलायमान बनाउनु पर्ने बताउनु भयो । उहाँका अनुसार बुटवलको कालिकापथमा रातको २ बजेसम्म, बुटवलकै अमरपथ र ट्राफिकचोकमा रातको १२ बजेसम्म, बुटवलको अन्य क्षेत्रमा रातको ११ बजेसम्म, सिद्वार्थ नगरनगरपालिका, तिलोत्तमा नगरपालिका, सैनामैना नगरपालिका र देवदह नगरपालिकाको राजमार्ग र बजार क्षेत्रमा रातको ११ बजेसम्म व्यवसाय सञ्चालन गर्न अनुमति दिन माग गरिएको हो ।
रुपन्देहीमा पर्यटकस्तर र त्यस भन्दा माथिका पांच सय बढी होटेल–रेष्टुंरा सञ्चालनमा रहेको बताउँदै रात्रीकालीन व्यवसाय सञ्चालन गर्न सकेमा भारतीय पर्यटकलाई भित्राउन र पर्यटकको बसाई लम्ब्याउन सकिने उहाँले बताउनु भयो । रात्रीकालीन बजार सञ्चालनका लागि संघले यसअघि पनि प्रमुख जिल्ला अधिकारी, जिल्लाका सुरक्षा निकाय, व्यवसाविक संघसस्था, स्थानीय सरकारसंग छलफल र वैठक बसी निर्णय गरेको थियो ।
ज्ञापनपत्र बुझेपछि प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले आफू कास्कीको प्रमुख जिल्ला अधिकारी हुंदा पोखरामा आफूले नै नेपालमा पहिलोपटक रात्रीकालीन व्यवसाय शुरु गराएको स्मरण गर्दै रुपन्देहीमा झन् आवश्यक भएको भनाई राख्नुभयो । स्थलमार्गबाट सबैभन्दा धेरै पर्यटक आउने बेलहिया नाका, विश्वभरका वौद्धमार्गी घुम्न आउने अन्तराष्ट्रिय पर्यटकीय स्थल लुम्बिनी नजिकै रहेको ठाउंमा रात्रीकालीन बजार आवश्यक भएको भन्दै उहाँले मापदण्ड पुरा गरेमा आफूले अनुमति दिने प्रतिवद्धता व्यक्त गर्नुभयो । संगसंगै स्थानीय सरकारको पनि साथ चाहिने बताउँदै उहाँले रात्रीकालीन व्यवसाय सञ्चालन हुंदैमा सुरक्षा चुनौती, बेथिति, विकृति र अपराध वृद्धि नहुने भनाई राख्नुभयो ।
रुपन्देहीका प्रहरी उपरीक्षक रन्जितसिंह राठौरले पहिलोचरणमा कुनै एक स्थान तोकेर रात्रीकालीन व्यवसाय सञ्चालनको परीक्षण गर्ने र त्यसपछि क्रमशः विस्तार गर्न प्रहरी तयार रहेको बताउनु भयो ।
सो अवसरमा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डे, तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँण, सिद्धार्थ नगरपालिकाका प्रमुख इस्तियाक अहमद खान, सैनामैनाका नगर प्रमुख फणिन्द्र शमाले रात्रीकालिन व्यवसाय सञ्चालन मापदण्ड पुरा हुँदा रात्रीकालिन व्यवसाय सञ्चालनमा स्थानीय सरकारको साथ रहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
त्यस्तै मानव अधिकार तथा शान्ति समाजका पुर्व केन्द्रीय सभापति गोविन्द खनालले पनि रात्रीकालिन व्यवसाय सञ्चालन आवश्यक रहेको बताउँदै त्यसको लागि व्यवसायि जिम्मेवार हुनुपर्ने र प्रहरी प्रशासन र स्थानीय सरकारका तर्फबाट पनि सुरक्षा सहितका अन्य सबै कुराको व्यवस्थापन पक्ष राम्रो बनाउनु पर्ने भनाई राख्नुभयो । बुटवल उपमहानगरपालिकाले भने यस अगाडि नै कार्यपालिका वैठकबाट रात्रीकालीन बजार सञ्चालन गर्न दिने निर्णय गरिसकेको छ ।