लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बुद्ध सर्किटमा मोनोरेल सञ्चालनको सम्भावना रहेको औंल्याउँदै प्रदेश सरकारले त्यसको योजना बनाएको बताउनु भएको छ । उहाँले रुपन्देही, कपिलबस्तु र नवलपरासीलाई बुद्ध सर्किटमार्फत जोड्न सकिने बताउँदै प्रदेश सरकारले मोनोरेल सञ्चालनका लागि सम्भाव्यता अध्ययन गर्ने र निजी क्षेत्रलाई आकर्षित गर्ने योजना बनाएको बताउनु भयो ।
प्रतिनिधि सभा सदस्य तथा नेपालका प्रतिष्ठित उद्योगी विनोद चौधरीसँग मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको भेटघाट तथा छलफलमा मुख्यमन्त्री आचार्यले रुपन्देही, कपिलवस्तु र नवलपरासीलाई बुद्ध सर्किटमार्फत जोड्न मोनोरेल सञ्चालन गर्न सकिने आधार रहेको बताउनु भएको हो ।
प्रदेश सरकार निजी क्षेत्रसँग साझेदारी गर्दै अगाडि बढ्न सक्ने बताउँदै उहाँले मोनोरेल सञ्चालनका लागि सम्भाव्यता अध्ययन गर्ने र निजी क्षेत्रलाई आकर्षित गर्ने योजना बनाएको जानकारी गराउनु भयो ।
मुख्यमन्त्री आचार्यले गौतम बुद्धको जन्मस्थल लुम्बिनीलाई ब्रान्डिङ गर्ने तथा विश्वभरका बौद्ध धर्मावलम्बीहरूको पहिलो गन्तव्यस्थलका रूपमा विकास गर्न प्रदेश सरकारले पहल गरिरहेको बताउनुभयो । पर्यटन बोर्डमार्फत लुम्बिनीको समग्र विकासलाई जोडेर व्यापक योजना निर्माण गरिने पनि उहाँले बताउनुभयो ।
छलफलका क्रममा प्रतिनिधि सभा सदस्य चौधरीले आगामी आर्थिक वर्षका लागि प्रदेश सरकारले स्वरोजगार प्रवद्र्धन, स्वास्थ्य सेवा सुधार, सामाजिक सेवा, पूर्वाधार निर्माण तथा लुम्बिनीको पर्यटन विकासलाई प्राथमिकता दिने गरी योजनामा समेट्न आग्रह गर्नुभयो ।