तिलोत्तमा गोल्पकप फूटवल प्रतियोगिताको उपाधि चर्च बोईज युनाईटेडले जितेको छ । शनिबार भएको २३ औं तिलोत्तमा गोल्डकप प्रतियोगिताको फाईनलमा ससस्त्र प्रहरीको एपिएफ क्लवलाई २–० ले हराउँदै ‘ए’ डिभिजन विजेता चर्च ब्याईज युनाईटेड उपाधि जितेको हो ।
यो सिजनमा दुई खेलमा एपीएफमाथि चर्च ब्वाइजले जित निकालेको छ । प्रतियोगिताको उपाधिसंगै चर्च ब्याईजलाई १२ लाख २२ हजार २ सय २२ रुपैया नगद पुरस्कार सहित गोल्डकप र प्रमाणपत्र प्रदान गरिएको छ ।
त्यस्तै उपविजेतामा समेटिएको ससस्त्र प्रहरीको एपिएफ क्लवलाई ६ लाख ६६ हजार ६६६ रुपैंया नगद पुरस्कार सहित कप, मेडल र प्रमाण पत्र प्रदान गरिएको छ ।
रुपन्देही जिल्ला फूटवल संघको आयोजना तथा बुटवल उपमहानगरपालिकाको संरक्षकत्वमा भएको प्रतियोगितामा चर्च ब्याईजका अमन लामालाई म्यान अफ द सिरिज घोषणा गरियो । उनलाई स्कुटी प्रदान गरिएको छ ।
त्यसैगरी प्रतियोगितामा चर्च ब्याईजका विवस चौधरी उत्कृष्ट गोलकिपर, चर्च ब्याईजकै रिचार्ड विलसन उत्कृष्ट फरवार्ड, एपीएफका स्यामोल सुनार उत्कृष्ट मिडफिल्ड, एपीएफका मानबहादुर राना उत्कृष्ट डिफेन्डर तथा चर्च ब्याईजका आशिक थापामगर उत्कृष्ट प्रशिक्षक घोषित भए । विधागत उत्कृष्ट खेलाडीहरुलाई नगद ३१ हजार रुपैयाबाट पुरस्कृत गरिएको छ ।
बुटवल देवीनगरस्थित एन्फा फुटबल एकेडेमी खेलमैदानमा भएको प्रतियोगिताको समापन समारोहमा बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेय, प्रदेश खेलकुद विकास परिषद लुम्बिनीका सदस्यसचिव तिरण गौतम, एन्फाका केन्द्रीय उपाध्यक्ष दीर्घबहादुर केसी, यशोदा फुड्स प्रालिका डाईरेक्टर नितेश मालपानी, रुपन्देही फुटबल संघका अध्यक्ष लोक पुन लगायतले विजेता, उपविजेता तथा उत्कृष्ट खेलाडीलाई पुरस्कार वितरण गर्नुभएको थियो ।
तिलोत्तमा गोल्डकपमा यो वर्ष आयोजक रुपन्देही–११ सहित संकटा एफसी, मच्छिन्द्र एफसी, चर्च ब्याईज युनाईटेड, नेपाल पुलिस क्लब, नेपाल सशस्त्र प्रहरी बलको एपिएफ क्लब तथा दुई विदेशी टिमहरु एडोर्न गडवाल स्पोर्टिङ क्लब, जर्जियन एफसी गरि आठ टिमले प्रतिस्पर्धा गरेका थिए ।