रुपन्देहीको होटल तथा रेष्टुरेन्ट व्यवसायी संघमा नेतृत्व हत्याउने होड : संघमा ताला, निर्वाचन स्थगित

1.3K

रुपन्देहीको होटल तथा रेष्टुरेन्ट व्यवसायी संघमा नेतृत्व हत्याउने होड : संघमा ताला, निर्वाचन स्थगित

होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीको यहि चैत २४ र २५ गते तय गरिएको २४ औं साधारण सभा तथा १२ औं अधिवेशन स्थगित गरिएको छ । अधिवेशनका लागि मंगलबार भएको उम्मेदवारी दर्ताका क्रममा पूर्वसहमति विपरित गतिविधि भएको भन्दै वरिष्ठ उपाध्यक्षको नेतृत्वमा संघका कार्यालयमा तालावन्दी गरिदिएपछि तत्कालका लागि साधारण सभा तथा अधिवेशन स्थगित गरिएको हो ।
संघको कार्यालयमा तालाबन्दिपछि छलफलमा समेत सहमति जुट्न नसकेपछि बुधबार साँझ प्रमुख निर्वाचन समितिले अर्को सूचना जारी नभएसम्मका लागि निर्वाचन स्थगित भएको सूचना जारी गरेको छ । यस अगाडि नै सर्वसम्मत नेतृत्व चयन गर्ने भद्र सहमति भएको थियो । तर सहमतिको उल्लंघन गरेको एकले अर्कालाई आरोप प्रत्यारोप गर्दै आएका छन् ।
तालावन्दीको नेतृत्व गरेका वरिष्ठ उपाध्यक्ष माधवकुमार खनालले पूर्वसहमति विपरित अध्यक्षले आफैले उम्मेदवारी दिएर सहमतिको उल्लंघन गरेको तथा आफू निकटका व्यवसायीलाई उम्मेदवारी दिनबाट वञ्चित गराएको आरोप लगाउनु भयो । उहाँले निर्वाचनबाट नेतृत्व हत्याउनका लागि गैर व्यवसायीलाई सदस्यता दिएको समेत आरोप लगाउनु भएको छ ।
तर अध्यक्ष लेखनाथ भण्डारीले भने उम्मेदवारी दिनेक्रममा वरिष्ठ उपाध्यक्षले नै सहमतिको उल्लंघन गरेकाले आफूले अध्यक्षमा उम्मेवारी दिएको प्रतिक्रिया दिनुभयो । उहाँले वरिष्ठ उपाध्यक्ष खनालले आफू निकटका व्यवसायीलाई स्वतन्त्र उम्मेदवारको रुपमा भिडाएर सहमति विपरित गतिबिधि गरेको प्रत्यारोप लगाउनु भयो । त्यस्तै गैर सदस्यलाई सदस्यता दिएको आरोप पनि अध्यक्ष लेखनाथ भण्डारीले अस्वीकार गर्नुभएको छ । अध्यक्ष भण्डारीले सदस्यता छानविन समितिको संयोजकले त्यस्तो आरोप लगाउनु हास्यास्पद भएको बताउँदै गैर व्यवसायीलाई सदस्य बनाएको भए छानविन गरेर हटाउने व्यक्तिले नै त्यसो भन्नु गलत भएको बताउनु भयो ।
निर्वाचन प्रक्रिया रद्द गर्नुपर्ने मागसहित व्यवसायीले तालाबन्दी गरेकाले नयाँ चुनावी प्रक्रिया सुरु गर्न सहमत भएमात्र तालाबन्दी खोलिने संघका वरिष्ठ उपाध्यक्ष माधव खनालले बताउनु भयो । राजनीतिक भागवण्डाका आधारमा नभई नेतृत्वमा आउन चाहने व्यवसायीलाई प्रतिस्पर्धामा बञ्चित नगरी उम्मेदवारी दर्ता गर्न दिइनुपर्ने व्यवसायीहरुको माग रहेको उहाँले बताउनु भयो ।
यस अगाडि नै संघको नयाँ नेतृत्व चयनका लागि काँग्रेस, एमाले, माओवादी लगायतका दल निकटका व्यवसायीलाई समेटेर सर्वसम्मत गराउने भद्र सहमति भएको थियो ।
मौजुदा समितिका अध्यक्ष भण्डारी काँग्रेस निकटका हुनुहुन्छ भने वरिष्ठ उपाध्यक्ष खनाल एमाले बुटवल नगर समितिका उपाध्यक्ष हुनुहुन्छ । संघमा साना, मझौला र केही ठूला समेत गरी ९२२ जना व्यवसायी आवद्ध रहेको संघले जनाएको छ ।