‘गोरखा-जितगढी एकीकरण पदयात्रा’ गरिँदै

1.3K

‘गोरखा-जितगढी एकीकरण पदयात्रा’ गरिँदै

नेपाली सेनाले तेस्रो ऐतिहासिक ‘गोरखा जितगढी एकीकरण पदयात्रा’ सुरु गर्दैछ । नेपाली सेना, स्थानीय तह र नागरिकको समन्वयमा यही चैत्र २८ गतेदेखि पदयात्रा सुरु गर्न लागिएको दि फेमस महेन्द्र दल गणले जानकारी गराएको हो ।
गोरखाबाट सुरु हुने पदयात्रा तनहुँ, पाल्पा हुँदै पाल्पाको रामपुर यही वैशाख २ गते आइपुग्ने र पाल्पाको टोलीले रुपन्देहीलाई हस्तान्त्रण गरेपछि जितगढी पुगेर समापन गरिने गणपति प्रमुख सेनानी भूपेन्द्र गुरुङ्गले जानकारी दिनुभयो । यात्राले गढी, किल्ला, दरबार तथा एकीकरणको क्रममा प्रयोग भएका मार्गहरू पहिचान गरी, संरक्षण, सम्वद्र्धन र विकास गर्न सघाउ पुग्ने विश्वास लिइएको छ ।
सेनाले विसं २०७९ देखि गोरखा दरबार जितगढी एकीकरण मार्गमा पदयात्रा सुरु गरेको थियो । श्री २२ नंम्बर बाहिनी अड्डा बुटवलका बाहिनीपति सहायक रथी पुरुषोत्तम खड्काले लुम्बिनी प्रदेशका पाल्पा र रुपन्देही जिल्लामा तैनाथ नेपाली सेनाका युनिटहरुले तेस्रो ऐतिहासिक गोरखा जितगढी पदयात्रा तथा रुपन्देहीको बुटवल स्थित जितगढीमा हुने बिजय उत्सवलाई सफलतापूर्वक सम्पन्न गर्न स्थानिय सरकारका साथै सरोकारवाला निकायहरुको महत्वपूर्ण भूमिका रहने बताउनुभयो ।
बाहिनीपति सहायक रथी खड्काले यस अघि दुई पटक भइसेको पदयात्राले सैनिक नागरिक सम्बन्धलाई सुमधुर र बलियो बनाउन सहयोग पुगेको देखिएकोले यस पटक पनि हुने पदायात्राले नयाँ पुस्तालाई नेपाली सेनाको ऐतिहासिकता र सेनासँग जोडिएका महत्वपुर्ण सम्पदाको बारे थाहा पाउन सहयोग पुग्ने बताउनुभयो ।
यात्रामा पृथ्वीनारायण शाहले तत्कालीन समयमा खडा गरेका पाँच पल्टन पुरानो गोरख, कालिबक्स, बर्दवाणी, सवुज तथा श्रीनाथ र जितगढीको लडाइमा भाग लिएका गुरुबक्स पल्टनका ५३ जनाको टोली सहभागी हुनेछन् । गोरखाको टोली पालुङटारको सतिघाट पुगेर तनहुँलाई उज्यालोको प्रतिकस्वरुप टर्च हस्तान्तरण गर्ने र तनहुँले पाल्पालाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको पदयात्राका संयोजक सेनानी जीतबहादुर कार्कीले जानकारी दिनुभयो । नेपाल र तत्कालीन ब्रिटिस इस्ट इण्डिया कम्पनीबीच भएको लडाइमा विजय प्राप्त गरेको दिन वैशाख ७ गतेलाई विजय उत्सवको रूपमा मनाउँदै आईएको छ ।

नेपाल अंग्रेज युद्धको क्रममा रुपन्देही स्थित जितगढी किल्लामा भएको लडाइमा विजय प्राप्त गरेको दिनलाई वर्तमान समयमा स्मरणीय बनाउन नेपाली सेना र बुटवल उपमहानरपालिकाले हरेक वर्ष वैशाख ७ गते विजय उत्सव दिवसका रूपमा मनाउँदै आएको छ ।
पदयात्रमा नेपाली सेना, स्थानीय, सम्बन्धित पालिकाका जनप्रतिनिधि र कर्मचारीको सहभागितामा पञ्चेबाजा, नेपाली सेनाको ब्यान्डमा नाच्दै गाउँदै उत्सव गरि मनाउँदै आईएको छ । जितगढी किल्लामा विसं १८७२ वैशाख ७ गते नेपालसँग हारेपछि अंग्रेज सेना फिर्ता भएको इतिहासका जानकार बताउँछन् । नेपाली सेनाले सैनिक नागरिक सम्बन्धको सुमधुर सम्बन्धलाई कायम गरि थप विस्तार गर्न पदयात्राले सहयोग पुग्ने भएकोले पायक पर्ने ठाउँहरुमा सेनासँगै पदयात्रा कार्यक्रममा सहभागी हुन, स्थानीय नागरिक, समुदाय, टोलक विकास संस्था, विद्यालय अन्य संघसंस्थालाई आग्रह समेत गरेको छ ।
तत्कालीन समयमा राज्य एकिकरणको क्रमम प्रयोग भएका सम्पादहरु गण, किल्ला, मार्ग देखि नेपाल–अंग्रेज युद्ध र नेपाली सेनाको विरासतसँग जोडिएका ऐतिहासिक दस्ताबेज, महिमालाई नयाँ पुस्ता माझ पुर्नताजगी गराउन पदयात्राले सहयोग पुग्ने अपेक्षा गरिएको छ ।