राजतन्त्र लामो समय रहेकै कारण देश पछाडी पर्यो : प्रधानमन्त्री ओली

1.3K

राजतन्त्र लामो समय रहेकै कारण देश पछाडी पर्यो : प्रधानमन्त्री ओली

प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले लामो समय राजतन्त्र रहेकै कारण देश पछाडी परेको टिप्पणी गर्नुभएको छ । नेपालमा २४० वर्षको राजतन्त्रमा देश विकासको अवस्था कस्तो थियो र अहिले के भईराखेको छ, छर्लङ रहेको बताउँदै उहाँले विश्वका राजतन्त्र भएका अन्य धेरै देशमा विकास भएपनि यहाँ किन हुन सकेन भनी प्रश्न गर्नुभयो ।
नेकपा एमालेले शुक्रबार बुटवलमा आयोजना गरेको जागरण सभालाई सम्बोधन गर्दै पार्टी अध्यक्ष ओलीले भन्नुभयो–‘बाटोघाटो पहिले नि जरूरत थियो, विमानस्थल, हुलाकी राजमार्ग, मध्यपहाडी राजमार्ग, मुख्य राजमार्ग सबै कहिले बनेका हुन् ?’
उहाँले कुनै पनि हालतमा राजतन्त्र नफर्किने दावी गर्दै भन्नुभयो– ‘देश अघि बढ्यो, पछाडि फर्कदैन, जनता रैती भएर बस्न तयार छैनन्, मसानघाटमा लगिएको चिता कसैले फर्काएर ल्याउने कल्पना गरेका छन्, त्यो दिवासपना मात्रै हो ।’
उहाँले सरकार र गठबन्धनमा कुनै समस्या नरहेको पनि प्रष्ट पार्नुभयो । केही तत्वहरूले चलाएको हल्लाले हावा खाएको बताउँदै उहाँले भन्नुभयो–‘सरकार ढल्ने होइन, कसैले हल्लाउन पनि सक्दैन ।’ उहाँले संविधान बनेपछि विकासले गति लिएको बताउँदै अझै धेरै गर्न बाँकी रहेको भनाई राख्नुभयो ।
देश अस्थिरतामा गएको समस्या भएको स्वीकार गर्दै उहाँले त्यही अवस्था चिर्नका लागि ठूला दुई दल बिच सहमति र सहकार्य गरिएको बताउनु भयो ।