जीतगढीलाई विश्व सम्पदा सूचीमा सूचिकृत गर्न पहल गर्छाैं : मुख्यमन्त्री आचार्य

1.3K

जीतगढीलाई विश्व सम्पदा सूचीमा सूचिकृत गर्न पहल गर्छाैं : मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जितगढी किल्लालाई विश्व सम्पदा सूचीमा सूचिकृत गर्न प्रदेश सरकारले पहल लिने बताउनु भएकाे छ । संघीय सरकारसँग समन्वय गरेर जितगढी किल्लालाई सूचिकृत गर्ने उल्लेख गर्दै उहाँले राष्ट्रिय गौरवको विषयलाई अन्तर्राष्ट्रिय मान्यता दिलाउन प्रयास गरिने बताउनु भएकाे हाे ।
जितगढी उत्सवको उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले कर्णेल उजिरसिंह थापालाई राष्ट्रिय सपुतका रूपमा नामाकरण गर्नका लागि पनि संघीय सरकारसँग पहल गर्ने समेत प्रतिबद्धता व्यक्त गर्नुभयाे । इतिहासबाट धेरै कुरा बुझ्न र सिक्न आवश्यक रहेको उल्लेख गर्दै उहाँले वीर सपुतको त्याग र बलिदानीलाई कहिल्यै बिर्सन नहुने बताउनु भयाे ।
मुख्यमन्त्री आचार्यले अंग्रेज सेनालाई हराउन सफल भएको गौरवमय इतिहास सबैले बुझ्नुपर्ने बताउँदै बुटवललाई आर्थिक राजधानी बनाउने प्रदेश सरकारको योजनालाई दृढताका साथ कार्यान्वयन गरिने बताउनु भयाे । स्थानीय सरकारसँग साझेदारी गर्दै बुटवलको उन्नति र समृद्धिका निम्ति बनाइएका योजनाहरू प्रभावकारी रूपमा कार्यान्वयन गरिने उनले स्पष्ट पार्नुभयाे ।
नेपाली फौजले अंग्रेज सेनालाई हराएको दिनको स्मरणमा रुपन्देहीको बुटवलस्थित जितगढीमा उत्सव मनाइएको हो । नेपाल–अंग्रेज युद्धका बेला बुटवलको जितगढीमा नेपाली फौजले अंग्रेज फौजलाई हराएको ऐतिहासिक तथ्य रहेको छ ।
कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले जितगढी किल्लालाई बिश्व सप्पदा सूचीमा सूतिकृत गर्न र कर्णेल उजिरसिंह थापालाई राष्ट्रिय विभूती घोषणा गर्न माग गर्नुभयाे । जितगढी उत्सवलाई संघीय सरकारले अपनत्व लिनुपर्ने बताउँदै उपमहानगर जितगढीको बृहत्तर विकासका लागि प्रदेश र संघीय सरकारसँग सहकार्य गर्न इच्छुक रहेको बताउनु भयाे ।
कार्यक्रममा उपमहानगरकी उपप्मुख साबित्रादेबी अर्याल, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरे, इतिहास अध्यता देबेन्द्रराज शाक्य लगायतले जितगढीको महत्वको चर्चा गर्नुभएकाे थियाे ।
जितगढी किल्लामा कर्णेल उजिरसिंह थापाको नेतृत्वमा नेपाली फौजले वि.सं. १८७२ साल वैशाख ७ गते अंग्रेज फौजमाथि ऐतिहासिक विजय हासिल गरेको थियो । सोही खुसियालीमा बुटवल उपमहानगरपालिकाले प्रत्येक वर्ष जितगढी उत्सव मनाउँदै आएको छ । उत्सवको अवसरमा विभिन्न सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो । बुटवल उपमहानगरको प्रवर्द्धनमा आयोजित उक्त उत्सवमा विभिन्न कलाकारहरूले देशभक्ति गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।
अंग्रेज सेनालाई पराजित गरेपछि उक्त गढीको नाम जितगढी रहन गएको हो । तत्कालीन समयमा नुवाकोट गढी, सिमरन गढी लगायत नेपालका सात स्थानमा अंग्रेजविरुद्ध युद्ध भएका थिए ।

नेपाली सेनाको गोरखा जितगढी पदयात्रीलाई स्वागत

आईतबार नै गोरखाबाट गढी र किल्लाहरुको संरक्षण एवं प्रवर्द्धन गर्ने उद्देश्यले गोरखाबाट जितगढीका लागि निस्केको पदयात्रीहरुलाई पाल्पाको नुवाकोट पुगेर स्वागत गरिएको थियो ।
बुटवल उपमहानगरकी उप प्रमुख साबित्रादेबी अर्यालको नेतृत्वमा गएको टोलीलले सेनाको पदयात्री टोलीलाई स्वागत गरेको थियो । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरे सहितको सुरक्षा अङ्का अधिकारीहरु पदयात्री टोलीलाई सम्मान गर्न नुवाकोट पुगेको थियो ।