देशभर गर्मी बढ्न थालेको छ । आगामी दिनमा अधिकतम तापक्रम अझै बढ्ने सम्भावना छ । तत्काल पानी पर्ने सम्भावना छैन । जसका कारण तातो हावाको लहर चल्नसक्ने सम्भावना पनि उत्तिकै छ ।
बुधबार सबैभन्दा बढी तापक्रम भैरहवामा ४३ डिग्रीसम्म पुग्नसक्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । त्यस्तै सबैभन्दा कम तापक्रम बुधबार राति जुम्लामा ६ डिग्रीसम्म पुग्ने पूर्वानुमान छ ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी तीन दिनसम्म पानी पार्ने वा बादल लाग्ने नयाँ मौसमी प्रणाली छैन । जसले गर्मी थप बढ्ने छ । यो समयमा पश्चिमी तथा स्थानीय वायुको पनि आंशिक प्रभाव मात्र रहेको छ । त्यसैले तापक्रम अझै बढ्ने अनुमान गरिएको हो ।
मंगलबार लुम्बिनी, सुदूरपश्चिम प्रदेशका तराईका एक–दुई वटा मौसम मापन केन्द्रमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा बढी रेकर्ड भएको थियो ।
यसैगरी मधेश प्रदेशका पश्चिमी भूभाग, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका भूभागहरुमा अधिकतम तापक्रम ३८ डिग्री सेल्सियस आसपास रेकर्ड भएको थियो ।