लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल लुम्बिनी प्रदेशको मेरुडण्ड भएको बताउँदै जसरी पनि चल्नुपर्ने र त्यसका लागि संघीय सरकारलाई गम्भिर ध्यानाकर्षण गराएको बताउनु भएको छ ।
सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीले बुधबार भैरहवामा आयोजना गरेको विमानस्थलको दीगो सञ्चालन सम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेशको आर्थिक तथा पर्यटन विकासका लागि यो विमानस्थल मेरुदण्ड भएको उल्लेख गर्नुभएको हो । उहाँले विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान भर्न आवश्यक सेवा विस्तारका लागि प्रदेश सरकार साझेदारी गर्न तयार रहेको पनि स्पष्ट पार्नुभयो ।
संघीय सरकारले प्रदेश सरकारलाई स्वास्थ्य परीक्षणको जिम्मेवारी दिएमा त्यसलाई पूरा गर्ने प्रतिबद्धता जनाउँदै उहाँले स्वास्थ्य परीक्षण, श्रम स्वीकृति र भिसा सेवाहरू तत्काल विस्तार गर्न बारम्बार ध्यानाकर्षण गराइएको बताउनुभयो । भिम अस्पताललाई स्वास्थ्य परीक्षणको जिम्मेवारी दिन सकिने उहाँको भनाइ थियो ।
‘हामीले स्वास्थ्य परीक्षण निःशुल्क गरिदिन सक्छौं भनेर भनेका छौं’, उहाँले भन्नुभयो–‘श्रम स्वीकृतिका लागि छुट्टै कार्यालय खोल्न पनि पर्दैन । यहीँबाट सेवा दिन सकिन्छ ।’
विमानस्थल जसरी, जुनसुकै हालतमा पनि सञ्चालन हुनुपर्छ । अहिले पनि म ढुक्क छु, यसलाई सञ्चालन गराउँछौं । सरकार निराश छैन । उहाँले व्यवसायीहरूको साथमा प्रदेश सरकार रहेको र विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडानका लागि पहलको नेतृत्व प्रदेश सरकारले लिने बताउनु भयो ।