नेकपा एकिकृत समाजवादी रुपन्देहीले जिल्ला भित्रका विभिन्न क्षेत्रका सरोकारवालाहरुसँग बर्तमान समस्या र समाधानका उपाय बिषयमा सुझाव संकलन गर्ने उदेश्यले बुटवलमा अन्तरसंवाद गरेको छ ।
‘सुशासन र रोजगारी समाजवादको तयारी’ भन्ने राष्ट्रिय नारा सहित केन्द्रीय कार्यक्रम अनुसार दैशैभर सम्बन्धित क्षेत्रका विज्ञ, सरोकारवालाहरुसँग वस्तुगत अवस्थाको जानकारी सहित सुझाव संकलन गर्ने गरी रुपन्देही जिल्ला कमिटिले कार्यक्रम राखेको हो । अन्तरसंवाद कार्यक्रममा देशको मुख्य मुद्धा सुशासन र रोजगारी नै हुनुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा नेकपा एकिकृत समाजवादीका केन्द्रीय सदस्य सिद्धिचरण भट्टराईले मुलुक मुद्धाको आधारमा अगाडि नबढ्दा आज युवाहरु विदेशिनेक्रम बढेकाले अब यसको अन्त्यका लागि पनि सुशासन र रोजगारी प्राथमिकतामा हुनुपर्ने बताउनु भयाे । उहाँले आफूहरुले महाधिवेशनबाट नेपाली बिशेषताको समाजवादी कार्यक्रम पारित गरेको बताउँदै वर्तमान समस्याका बारेमा सरकारलाई झकझक्याउने उदेश्यले सरोकारवालाहरुसँग सुझाव संकलन गर्नेगरी अन्तरसंवाद गरिएको बताउनु भयाे ।
कार्यक्रममा वामबुद्धिजिवि एव्म लेखक ऋषि आजादले वर्तमान समयमा राजनीति पञ्चर भएको बताउँदै नेतृत्वको कार्यशैली परिवर्तन गरेर सुशासन र रोजगारी सृजना गर्ने मोडेलमा जानुपर्ने बताउनु भयाे । उहाँले नेताहरुमा देखिएको विलाशिता र राजसीशैली परिवर्तन गरेर भुईँमान्छेसरहको व्यवहार बनाउन समेत दवाव दिनुपर्ने बताउनु भयाे ।
बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्यालले सरकारी र नीजि क्षेत्रविच सौतनी व्यवहार हुने गरेकाले त्यसलाई सुधार गर्दै दिगो पूर्वाधार विकासमा ध्यान दिनुपर्ने सुझाव दिनुभयाे । उहाँले मुलुकमा देखिएका समस्या समाधानका लागि सबै क्षेत्रमा प्रतिबद्धताको खाँचो रहेको औल्याउनु भयाे ।
सहकारी अभियान्ता तथा बैंक सञ्चालक भिम तुलाचनले अहिले नेपालमा जनशक्ति उत्पादनमा नीजि क्षेत्रलाई सरकारले प्रोत्साहन नगरेको गुनासो गर्नुभयाे । उहाँले तीन तहको सरकार बनेसँगै सहकारी क्षेत्रमा प्रभावकारी नियमन नहुँदा समस्याहरु देखा परेको बताउनुभयाे ।
उपभोक्ता हित संरक्षण मञ्च लुम्बिनी प्रदेशका अध्यक्ष तेजप्रसाद पाठकले सरकारले संविधानको धारा ४४ मा राखेको नागरिकको मौलिक हकलाई कार्यान्वयन गर्न नसकेको बताउनु भयाे ।
यसैगरी कार्यक्रममा स्वास्थ्य क्षेत्रका जानकार कमल भण्डारीले नेपालमा संघीयताले सहज रुपमा सेवा दिनुपर्नेमा कतिपय अवस्थामा तीन तहको छुटाछुट्टै कानुनको उल्झनमा व्यवसायिक क्षेत्रहरु पर्ने गरेको गुनासो गर्नुभयाे । ढुवानी व्यवासयी संघका अध्यक्ष जितबहादुर भाटले सरकारले ढुवानीमा समेत भ्याट लगाउँदा साना व्यवसायी मारमा परेको बताउँदै यसबारे पहल गर्न आग्रह गर्नुभयाे ।
कार्यक्रममा प्याब्सनका लुम्बिनी प्रदेश अध्यक्ष लालहरी पाण्डे, होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीका अध्यक्ष लेखनाथ भण्डारी, रुपन्देही सुनचाँदी व्यवसायी संघका अध्यक्ष गोपाल रामदाम, बुटवल सुनचाँदी व्यवसायी संघका अध्यक्ष गकुल विश्वकर्मा, सामुदायिक वनका तर्फबाट खिमनारायण अधिकारी, भूमि आयोग रुपन्देहीका पूर्व सदस्य यामलाल तिवारी, समाजवादी प्रेस संगठन नेपाल रुपन्देही अध्यक्ष विनोद परियार लगायतले बोल्दै रुपन्देहीका बन्द भएको बुटवल धागो कारखाना, जीर्ण उद्योग सञ्चालन, भूमिहिन सुकुम्बासी समस्या समाधान, सुनचाँदी व्यवसायीले सुनको आपूर्तीमा भोगेको समस्या समाधान गर्न, सञ्चारक्षेत्रलाई सबल बनाउन तथा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडानका लागि दवाव दिन सुझाव दिनुभएकाे थियाे ।
कार्यक्रम नेकपा एकीकृत समाजवादी रुपन्देहीका अध्यक्ष हिराध्वज शाहको अध्यक्षता, उपाध्यक्ष अविराम विश्वकर्माको स्वागत तथा सचिव टंक पोख्रेलको सञ्चालनमा भएको थियो । प्राप्त सुझावहरुका आधारमा बैशाख १७ गते जिल्ला प्रशासन कार्यालय रुपन्देही मार्फत सरकारलाई ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको अध्यक्ष शाहले जानकारी दिनुभयाे ।