रुपन्देहीको तिलोत्तमा नगरपालिकाले पशुपालक किसानलाई हाँसको चल्लो प्रदान गरेको छ । किसानको मागका आधारमा वडा नं. १७ का पशुपालक किसानलाई लागत सहभागितामा स्थानीय व्हाइट पेकिंन जातको हाँसको चल्ला वितरण गरिएको हो ।
परम्परागत हाँस पालनलाई व्यवसायिक बनाउने र पोषण सुधार कार्यक्रम एवम् हाँस प्रवद्र्धन कार्यक्रम अन्तर्गत स्थानीयलाई हाँसको चल्ला वितरण गरिएको पशु शाखा प्रमुख राजु कुँवर मगरले जानकारी दिनुभयो । वडाका १ सय ४ कृषकलाई २ हजार ८० वटा चल्ला वितरण गरिएको उहाँले बताउनुभयो ।
तिलोत्तमा नगरपालिकाले आफ्नो बजेट नीति तथा कार्यक्रममै राखेर त्यस स्थानका किसानलाई धान खेतीमा समेत हाँस पालन गर्ने गरि चल्ला बितरण गरिएको नगरप्रमुख रामकृष्ण खाँणले बताउनुभयो । उनीहरुलाई स्थानीय जातको त्यसमा पनि मासु बढी हुने खालको हाँसको चल्ला खरिदमा ७५ प्रतिशत अनुदान दिइ बितरण गरिएको हो ।
स्थानीयसँग भएको खोर र पाल्नसक्ने क्षमताका आधारमा कम्तीमा २० वटा चल्ला र तिनीहरुलाई प्रथम चरणमा पुग्ने दाना समेत निःशुल्क दिईएको नगर प्रमुख खाँणले जानकारी दिनुभयो ।
त्यस अवसरमा बोल्दै वडा नम्बर १७ का वडा अध्यक्ष दानबहादुर चौधरीले ३ सय परिवारलाई चल्ला वितरण गर्ने लक्ष्य राखिएको बताउनुभयो । यसले स्थानीयको जीवनस्तर उकास्न र यस क्षेत्रमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई नयाँ स्वाद दिन सकिने उहाँको भनाइ छ । पछिल्लो समय स्वास्थ्यका हिसाबले पनि हाँसको मासु तथा अण्डाको माग बढ्दै गएको छ ।