नेपालमा दुई करोड जोर जुत्ता चोरी पैठारी

1.3K

नेपालमा दुई करोड जोर जुत्ता चोरी पैठारी

नेपालमा २ करोड जोर जुत्ता चोरी पैठारी हुने गरेको नेपाली जुत्ता उद्योगीहरुले दावी गरेका छन् । नेपाली जुत्ता उत्पादक संघका अध्यक्ष रुद्रप्रसाद न्यौपानेले नेपाली बजारमा आएका विदेशी कम्पनीका साढे ३ करोड जोर जुत्ता मध्ये २ करोड जोर जुत्ता चोरी पैठारी भएको बताउनु भएको हो ।
त्यस्तै नेपाली उद्योगबाट उत्पादन भएका १ अर्व २५ करोड रुपैंया बराबरको जुत्ता विदेश निर्यात भईरहेको पनि उहाँले जानकारी गराउनु भयो । १६ करोड जोर उत्पादन क्षमता भएको नेपाली जुत्ता उद्योगबाट अहिले साढे १० करोड जोर जुत्ता उत्पादन भईरहेको छ ।
त्यसमध्ये ७ करोड जोर नेपाली बजारमा खपत भईरहेको र बाँकी विदेश निर्यात गरिएको उहाँले बताउनु भयो । उहाँका अनुसार नेपाली उद्योगबाट उत्पादित जुत्ता चप्पलले ७० प्रतिशत नेपाली बजार ओगटेको छ ।
नेपाली बजारमा वार्षिक साढे १० करोड जोर बढी जुत्ता खपत हुने अध्यक्ष न्यौपानेले बताउनु भयो । उहाँका अनुसार बाँकी साढे ३ करोड जोर जुत्ता विदेश उद्योगका उत्पादन छन् । त्यसमध्ये २ करोड जोर जुत्ता चोरी पैठारीबाट आईरहेको छ । यसले देशको राजश्वमा समेत घाटा पु¥याईरहेको उहाँ बताउनु हुन्छ ।
नेपाली जुत्ता उद्योगमा ३० अर्ब रुपैंया बढी लगानी रहेको नेपाली जुत्ता घरका सञ्चालक सुरज वञ्जाडे बताउनु हुन्छ । नेपाली जुत्ता उद्योगीहरुले खुला सिमानाकामा कडाई गरिदिन पटक पटक सरकारलाई आग्रह गर्दै आईरहेको भएपनि त्यसो हुन नसक्दा चोरी पैठारीले मुलुकको अर्थतन्त्रमा घाटा भईरहेको छ भने अर्कोतिर नेपाली उत्पादनको बजारमा समेत समस्या भएको उहाँ बताउनु हुन्छ ।