नेपाल राष्ट्र बैंकको गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त हुनु भएको छ । मंगलबार बसेको मन्त्रीपरिषदको बैठकले नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा पौडेललाई नियुक्त गरेको हो ।
उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल संयोजक रहेको गभर्नर सिफारिस समितिले पौडेलसहित निलम ढुंगाना निम्सिना र दिनेश भट्टराई तीन जनाको नाम सिफारिस गरेको थियो ।
गभर्नरमा नियुक्त पौडेल अर्थशास्त्रमा विद्यावारिधि गर्नुभएको छ भने राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष समेत हुनुहुन्छ । काठमाण्डौ विश्वविद्यालयका अध्यापक पौडेल अन्तर्राष्ट्रिय श्रम संगठनको आर्थिक सल्लाहकारको रुपमा काम गरेको समेत अनुभव छ ।
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल सकिएपछि गत चैत २५ गतेदेखि खाली थियो भने अर्थमन्त्रालयले डेपुटी गभर्नर निलम ढुंगाना तिम्सिनालाई कामु गभर्नरको जिम्मा दिएको थियो ।
लामो समय खाली रहेको नेपाल राष्ट्र बैंकको गभर्नरका लागि सत्तारुढ एमाले काँग्रेसका लागि पेचिलो बनेको थियो । जसका कारण चैत ११ मा सिफारिस समितिका दुई सदस्यले राजीनामा दिएका थिए । बैशाख ९ मा समितिका सदस्य पूर्वगभर्नर विजयनाथ भट्टराई र आफूलाई गभर्नर बन्न प्रस्ताव आएपछि विश्वनाथ पौडेलले समितिको सदस्य पदबाट राजिनामा दिनुभएको थियो । जसका कारण अर्थमन्त्री पौडेलले सिफारिस समिति नै पुनर्गठन गर्नुपरेको थियो ।