भारतीय मालवाहक सवारी साधन (ट्रक)को ओभरलोड भन्सार विन्दुमै भार मिलान गरिने भएको छ । ओभरलोड मालवाहक सवारी साधनका कारण नेपालका सडक तथा पुल पुलेसा विग्रिदै गएपछि प्रशासनले भारतीय मालवाहक सवारी साधनको भन्सार विदुमै भार मिलान गर्ने निर्णय लिएको हो ।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेको अध्यक्षतामा बुधबार बसेको बैठकले ओभरलोड मालवाहक सवारी साधनलाई भन्सार विन्दुमै भार मिलान गरेर मात्रै नेपाल प्रवेश गर्न दिने निर्णय गरेको हो । भारतीय ओभरलोड गाडीले पूर्व–पश्चिम राजमार्गको बुटवल–नारायणगढ सडक खण्डका तीन वटा पुल भत्काईदिएपछि प्रशासनले ओभरलोड गाडीको भार मिलानमा तदारुक्ता देखाएको हो ।
भारतीय गाडीलाई ओभरलोड छुट दिदा नेपालमा दुर्घटना बढेको, दुर्घटना गराएर भारतीय ट्रक चालकहरु भाग्ने गरेको तथा सडक, पुलपुलेसाहरु भत्किने समस्या बढ्दै गएपछि ट्रक व्यवसायीहरुले ओभरलोडको दोहोरो मापदण्ड हटाउदै नियन्त्रण गर्न माग राख्दै आएका थिए । ट्रक व्यवसायीको माग मात्र हैन भारतबाट भित्रिएका ओभरलोड मालवाहक सवारी साधनका कारण बुटवल–नारायणगढ सडक खण्डका ३ वटा पुलमा क्षति पुगेको छ भने भैरहवा–बुटवल, भैरहवा–लुम्बिनी सडक खण्ड पनि क्षति भएर पटक पटक मरमत गरिदै आएको छ ।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले यी सबै कुरालाई हेरेर कानुनमा भएको व्यवस्थालाई कार्यान्वयनमा ल्याउन खोजिएको बताउनु भएको छ । यसको पुर्ण कार्यान्वयनको व्यवस्था यातायात व्यवस्था कार्यालय, बुटवल (सवारी), ट्राफिक प्रहरी कार्यालय र भैरहवा भन्सार कार्यालयले आपसी समन्वय एवं सहकार्यमा गर्ने पनि जिल्ला प्रशासन कार्यालयको निर्णयमा उल्लेख छ । नेपाली नम्बर प्लेट भएका नेपाल भित्र सञ्चालन हुने ढुवानीका सवारी साधनका हकमा समेत तोकिएको भार क्षमता भित्र मात्र सञ्चालन गर्ने व्यवस्था मिलाउने निर्णय गरिएको छ ।
यसको लागि भैरहवा भन्सार कार्यालयमा तौल मेशीन रहने स्थानमा भैरहवा भन्सार कार्यालय, यातायात व्यवस्था कार्यालय, जिल्ला प्रहरी कार्यालय, ट्राफिक प्रहरी कार्यालय, ढुवानी व्यवसायी संघबाट खटिएका एक एक जना प्रतिनिधिले निरीक्षण गरेर भारवाहन क्षमता भित्र रहेको सुनिश्चित गरेर मात्र सवारी साधन पास हुने व्यवस्था गरिएको छ ।
जिल्ला प्रशासन कार्यालयले भारमिलान सम्बन्धि गरेको निर्णयको पश्चिमाञ्चल यातायात व्यवसायी समितिका अध्यक्ष टिकाराम गौतमले जिल्ला प्रशासन कार्यालयको अगुवाईमा भारमिलानको निर्णय स्वागत योग्य रहेको बताउनुभयो । उहाँले भारतीय गाडीहरुको ओभर लोड भन्सार बिन्दुमै मिलान गर्नेे व्यवस्थाले नेपाली सडक, पुल पुलेसाको संरक्षण हुने र नेपाली ट्रक व्यवसायीको लगानी सुरक्षित हुने विश्वास लिनुभयो ।
मालवाहक सवारी साधनको भारवाहन नियमन सम्बन्धि निर्देशिका २०७४ तथा ओभरलोड सम्वन्धी प्रचलित कानुन अनुसार क्षमता भन्दा बढी भार बोक्नेलाई भन्सार बिन्दुमै पल्टी गराउने व्यवस्था छ । निर्देशिकामा पनि ‘तोकिएको भारवाहन क्षमता भन्दा बढी भार बोकी आएका मालवाहक सवारी साधनले प्रचलित कानून अनुसारको जरिवाना गर्नुको साथै बढी भएको सामान झारी सवारी धनिले नै त्यस्तो सामानको भण्डारणको ब्यवस्था मिलाउनु पर्ने’ उल्लेख छ । नेपालका सडक र पुलको क्षमता अनुसार यो मापदण्ड निर्धारण गरिए पनि मालबाहक सवारी साधनले आफ्नो क्षमता भन्दा दोब्बर बढी भार बोक्ने गरेको पश्चिमाञ्चल यातायात व्यवसायी समितिका कार्यालय प्रमुख प्रकाश गैरे बताउनु हुन्छ ।