धर्मको संरक्षण काँग्रेसले नै गर्छ, राजा चाहिँदैन : प्रवक्ता महत

1.3K

धर्मको संरक्षण काँग्रेसले नै गर्छ, राजा चाहिँदैन : प्रवक्ता महत

नेपाली काँग्रेसका प्रवक्ता तथा पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले हिन्दुधर्मको रक्षा नेपाली काँग्रेसले नै गर्ने भएकाले त्यसका लागि राजा नचाहिने बताउनु भएको छ । नेपाली काँग्रेस अर्घाखाँची–रुपन्देही सम्पर्क समितिको दोस्रो अधिवेशनको शनिबार बुटवलमा उद्घाटन गर्दै उहाँले हिन्दुर्धमको संरक्षणका लागि कुनै राजाको आवश्यकता नभएको बताउनु भएको हो ।
उहाँले राजा संवैधानिक भएर बस्न नसकेकै कारण नेपाली काँग्रेसले पार्टीको नीति संवैधानिक राजतन्त्र परिवर्तन गरिएकाले अब त्यसतर्फ फर्किन नसकिने बताउनु भयो । लोकतन्त्र उन्नत शासन पद्धती भएको बताउँदै लोकतन्त्रको विकल्प हुनै नसक्ने पनि बताउनु भयो । तर यो व्यवस्था ल्याउन लडेका नेताहरुले चरित्र सुधार गर्ने र जनचाहना अनुसारको डेलीवरी दिनसक्नुपर्ने भनाई राख्नुभयो ।
अहिले मिलेर सत्ता चलाउनुपर्ने परिस्थिती रहेको बताउँदै सत्ता साझेदार दलहरु बिचमा विश्वासको वातावरण हुनुपर्ने भनाई राख्नुभयो । गभर्नर नियुक्तिका विषयमा विश्वासको वातावरण विग्रिन खोजेको उल्लेख गर्दै विश्वासको वातावरण विग्रिदा सबैकुरा विग्रिने भएकाले त्यसतर्फ सबैले ध्यान दिनुपर्ने भनाई राख्नुभयो ।

पार्टी भित्र पनि एकले अर्कालाई सहयोग गर्नुपर्ने बताउँदै यदि त्यसो हुन सकेन भने सबैतिर विग्रिने बताउँदै पार्टीका नेता कार्यकर्तामा अनुशासन कायम गर्न आग्रह गर्नुभयो । उहाँले पार्टीका नेताहरुमा विपक्षीले लगाएको आरोपलाई समाचेर अझै उचाल्ने प्रबृत्ति देखिएकाले त्यसको पनि बिरोध गर्नुभयो । उहाँले आफूहरुका पनि केही कमिकमजोरी हुन सक्ने र त्यस्ता कमिकमजोरी सुधार गर्न सकिने बताउँदै पार्टीहरुमा सबैभन्दा राम्रो नेपाली काँग्रेस नै भएको दावी गर्नुभयो ।