पाल्पाको रम्भा गाउँपालिका–२ फोक्सिङ्कोट र वडा ३ पीपलडाँडा क्षेत्र रिमिघा लेकमा भेटिएको जडीबुटी यार्चागुम्बा भएको पुष्टि भएको छ । राष्ट्रिय विधि विज्ञान प्रयोगशाला खुमलटार, ललितपुरले आइतबार उक्त जडिबुटी यार्सागुम्बा भएको पुष्टि गरेको हो ।
ढुसी यार्चागुम्बालाई अङ्ग्रेजीमा ‘क्याटरपिलर फंसन’ भनिन्छ । यार्चागुम्बालाई यार्सागुम्बा पनि भनिन्छ । यार्साको जीवनचक्रमा एक किसिमको पुतलीको उल्लेख्य भूमिका हुन्छ । उक्त पुतलीले पुसमाघमा पार्ने अण्डा फागुनचैत्रमा लार्भा र प्यूँपा जेठमा कीरामा परिणत भएर जमिनबाट बाहिर निस्किछन् ।
पुतलीले पुसमाघ महिनामा प्रशस्त अण्डा पार्ने र ती अण्डालाई हिउँले छोप्ने गर्छ । यार्साका शुक्रकीट जेठ, असार महिनामा परिपक्व भएर झर्छन् । त्यसरी झरेका शुक्रकीट भदौ, असोज महिनामा फेरि पुतलीमा परिणत भएर यार्सागुम्बाको जीवनचक्र पूरा हुने गर्छ ।
प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत रिमिघा लेकमा झाडी सरसफाइ गरेर सामुदायिक वन क्षेत्रमा सुन्तलाका बिरुवा लगाउने तयारी गर्दा खाल्डो खन्ने क्रममा यार्चागुम्बा जस्तै देखिने प्रजाति भेटिएको थियो । त्यसपछि परीक्षणका लागि विधि विज्ञान प्रयोगशाला पठाइएको रम्भा गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताउनु भयो ।
प्रयोगशालाको रिपोर्ट आएपछि जिल्ला समन्वय समितिका प्रमुख टंकनाथ खनाल, गाउँपालिका अध्यक्ष भण्डारी, उपाध्यक्ष राधाकुमारी श्रेष्ठ, निमित्त प्रमुख प्रशासकीय अधिकृत पोष्टराज न्यौपाने, डिभिजन वन कार्यालयका प्रमुख नारायणदेव भट्टराई समेतको उपस्थितिमा जिल्ला सुरक्षा समितिको बैठक बसेर जडीबुटी यार्चा भेटिएको क्षेत्रमा अझै केही दिन सर्वसाधारणलाई प्रवेश निषेध गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले सुरक्षा समितिको बैठकले जडीबुटी संकलन, बिक्री वितरण कार्य व्यवस्थित गर्ने गरी अझै केही दिन रिमिघा लेक क्षेत्रमा सर्वसाधारणको प्रवेश निषेध गरिएको जानकारी गराउनु भयो । अब जडीबुटी संकलन, बिक्री वितरणका लागि विगतमा संकलन गर्दै आएका जिल्लासँग डिभिजन वन कार्यालयले समन्वय गर्नेछ ।
प्रचलित कानुनी व्यवस्था भएका जिल्लाका डिभिजन वन र गाउँपालिकासँग समन्वय गरेर डिभिजन वन कार्यालय पाल्पाले संकलन कार्य व्यवस्थित गर्ने गरी निर्णय गरिएको उहाँले बताउनु भयो । त्यस क्षेत्रमा थप सुरक्षाकर्मी परिचालन हुनेछ । यार्चा भेटिएको जंगल रम्भा गाउँपालिका–३, पीपलडाँडाका साथै २ को फोक्सिङ्कोटको रिमिघा वन क्षेत्रमा सर्वसाधारणलाई प्रवेश निषेध गरिएको छ ।
डिभिजन वन कार्यालयका अनुसार सार्वजनिक सूचनाको बर्खिलापमा गई वन क्षेत्रमा प्रवेश गरेको भेटिएमा प्रचलित कानुन बमोजिम कारबाही हुनेछ । डिभिजन वन प्रमुख भट्टराईले काम व्यवस्थित गर्ने क्रममा अहिले केही समय जंगल क्षेत्रलाई सिल नै राखिने बताउनु भयो ।
रिमिघिा लेक १ हजार ८ सय मिटरको उचाइमा रहेको छ । यार्सागुम्बा बहुमूल्य छ । यो स्वास्थ्यबद्र्धक, शक्तिबद्र्धक र रोगप्रतिरोधी क्षमताले भरिपूर्ण हुन्छ । शरीरमा लाग्नसक्ने कैयौं रोगलाई यार्सागुम्बाको सही प्रयोगले निको पार्न सकिन्छ । यो आयुर्वेदमा मात्र नभई एलोप्याथिक औषधिमा पनि प्रयोग भएको पाइन्छ ।
यार्सागुम्बा झुसिलकीरा र ढुसीको संयोजनबाट बनेको हुन्छ । गर्मीयाममा झार जस्तै हुन्छ, हिउँदमा कीराको रूपमा रहन्छ । झुसिलकीरामा च्याउ प्रजातिको ढुसी आएको हुन्छ । यही ढुसी बढेपछि यसलाई यार्सागुम्बा भनिन्छ । त्यसैले यसलाई वनस्पति र जीवको समिश्रण पनि भन्ने गरिन्छ । यार्सागुम्बा हिमाली भाषाले दिएको नाम हो । यार्साको अर्थ वनस्पति र गुम्बुको अर्थ कीरा हो । यार्सागुम्बाको वैज्ञानिक नाम ‘कार्डिसिभ साइनिसस’ हो ।
यार्सागुम्बामा कोर्डिसेपिन लगायत अन्य न्युक्लेओसाइड, कोर्डिसेपिक एसिड, एमिनो एसिड, फ्याटी एसिड, पोलिसाक्काराइड, भिटामिन बी १२, बी, बी १, कार्बोहाइड्रेट, ग्लुकोज, प्रोटिन, स्टेरोल, मेलानिन जस्ता रासायनिक पदार्थ पाइन्छ । यसमा पाइने केही रसायनिक तत्वहरू क्यान्सर र ट्युमर उपचारमा पनि उपयोगी देखिएको पछिल्ला वैज्ञानिक अनुसन्धानहरूले पुष्टि गरेका छन् ।
समुन्द्री सतहबाट तीन हजार ६ सय मिटरदेखि पाँच हजार मिटरसम्म वा सो भन्दा माथिको उचाइसम्म पाइन्छ । विश्वभर १ सय प्रजातिका यार्सागुम्बा पाइन्छन् भने चीनमा मात्रै २१, भारतमा ७ र नेपालमा २ प्रजातिका यार्सागुम्बा पाइन्छन् । नेपालका ताप्लेजुङ, संखुवासभा, गोरखा, दार्चुला, बझाङ, बाजुरा, जुम्ला, हुम्ला, मुगु, डोल्पा, मनाङ, सिन्धुपाल्चोक, रसुवा, दोलखा लगायतका जिल्लामा यार्सागुम्बा पाइन्छ । जुन नेपालबाट कोरिया, ताइवान, हङकङ, म्यानमार, थाइल्याण्ड, सिंगापुर, जापान, बेलायत र अमेरिकामा निर्यात हुन्छ ।