यो वर्षको मनसुन देशभर फैलिएको छ । नेपालको पूर्वि भू–भागबाट जेठ १५ गते नेपाल प्रवेश गरेको मनसुन २३ औं दिनमा नेपालका सबै भू–भागमा फैलिएको जल तथा मौषम विज्ञान विभाग मौषम पूर्वानुमान महाशाखाले जनाएको छ ।
नेपालमा मनसुन भित्रिने सरदर मिति भन्दा यो वर्ष १५ दिन अगावै मनसुन नेपाल भित्रिएको थियो । यद्यपी नेपालका सबै भू–भागमा फैलिन भने लामो समय लाग्यो ।

मनसुन नेपालको पूर्वी भू–भागबाट प्रवेश गरी कोशी प्रदेशको अधिकांश भू–भागमा विस्तार भई जेठको २९ गतेमात्रै मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही भू–भाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भू–भाग सम्म विस्तार भएको थियो । महाशाखाका अनुसार नेपालमा मनसुन सरदर जून १३ पूर्वी भूभागबाट भित्रिने र एक हप्ता भित्र सबै भूभागमा फैलिने गर्दछ ।
विभागले यस वर्षको मनसुन अवधिमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण गरेको छ । गण्डकी, लुम्बिनी र कर्णालीमा सबैभन्दा बढी प्रभाव पर्ने पूर्वानुमान छ ।