तिलोत्तमा नगरपालिकाका पशुपालक किसानलाई अनुदानमा विभिन्न उपकरण प्रदान गरिएको छ । तिलोत्तमा नगरपालिकाले व्यवसायिक रुपमा पशुपालन गर्दै आएका ३१ जना किसानलाई घाँस काट्ने मेसिन, पाऊ म्याट, ब्रस कटर, गोठ सफा लगायतका ७ प्रकारका मेसिन ५० प्रतिशत अनुदानमा उपलब्ध गराएको हो ।
उनीहरुलाई तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाँणले ती उपकरण हस्तान्त्रण गर्नुभएको हो । उपककरण हस्तान्तरण गर्दै नगरप्रमुख खाँणले व्यवसायिक रुपमा पशुपालन गर्दै आएको किसानका आवश्यकता र मागका आधारमा ५० प्रतिशत अनुदानमा उपकरण प्रदान गरिएको बताउनु भयो । दुध तथा मासुको उत्पादन बृद्धि गर्नका लागि नगरपालिकाले किसानलाई प्रोत्साहन गर्दै आएको बताउँदै उहाँले उत्पादकत्व बृद्धि गर्ने र गुणस्तर तथा सुद्धतामा अझै सुधार आउने विश्वास व्यक्त गर्नुभयो ।
तिलोत्तमा नगरपालिका कृषिजन्य उत्पादन तथा औद्योगिक विकास उन्मुख रहेको बताउँदै उपप्रमुख जागेश्वरीदेवी चौधरीले कृषिजन्य उत्पादन र कृषिमा आधारित उद्योगलाई प्राथमिकता सहित आगामी बजेटमा प्राथमिकता दिईने बताउनु भयो ।
कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले यस्ता सामग्रीले पशुपालक कृषकहरुलाई थप प्रोत्साहित गर्ने हुँदा नगरपालिकाले यस्ता कार्यक्रमलाइ बिशेष जोड दिएको बताउनुभयो । कार्यक्रममा वडा नम्बर–६ का अध्यक्ष गणेश पाठक, पशु शाखाका प्रमुख राजु कुँवर मगर, पशु डाक्टर ईन्द्रकला खत्री लगायत किसानहरुको सहभागिता रहेको थियो ।