सोमबारसम्म धेरै भारी वर्षाको सम्भावना

1.3K

सोमबारसम्म धेरै भारी वर्षाको सम्भावना

आज शनिबार साँझदेखि सोमबार बिहानसम्म धेरै भारी वर्षा हुने जल तथा मौषम विज्ञान विभाग, मौषम पुर्वानुमान महाशाखाले औंल्याएको छ ।
महाशाखाले शुक्रबार साँझ मनसुन सम्बन्धि विशेष बुलेटिन जारी गर्दै कर्णाली प्रदेशको पहाडी भू–भाग, सुदुरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका पहाडी र तराईका भू–भागमा मनसुन सक्रिय हुने भएकाले ती क्षेत्रमा भारीदेखि धेरै भारीसम्मको वर्षा हुनसक्ने सम्भावना औंल्याएको हो ।
सम्भावित वर्षाको कारण भू–क्षय, बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम रहेकोले शहरी तथा तराई क्षेत्रहरूमा डुबान हुन सक्ने, नदी नाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने, दैनिक जन–जीवन, कृषि, स्वास्थ्य, पर्यटन, नदी क्षेत्र आसपासका निर्माण कार्य, सडक तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
हाल मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानमा तथा पश्चिममा सरदर स्थानबाट दक्षिणतर्फ अवस्थित रहेको उल्लेख गर्दै महाशाखाले शनिबार साँझबाट उक्त रेखा सरदर स्थानबाट उत्तर तर्फ पश्चिम नेपालको केही नजिक सर्ने सम्भावना देखिएको उल्लेख गरेको छ ।

यही प्रणालीका प्रभावले शनिबार साँझ देखि सोमबार बिहानसम्म कर्णाली प्रदेशको पहाडी भू–भाग, सुदुरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका पहाडी र तराईका भू–भागमा मनसुन सक्रिय हुने सम्भावना रहेको हो ।
त्यस्तै बंगालको खाडी तथा अरब सागरबाट प्रवाह हुने जलवाष्पयुक्त हावाको साथै उल्लेखित कर्णाली प्रदेशको पहाडी भू–भाग, सुदुरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका पहाडी र तराईका भू–भागका क्षेत्रहरूमा न्यून चापीय प्रणालीको प्रभावको कारण कर्णाली प्रदेशको पहाडी भू–भाग, सुदुरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका पहाडी र तराईका भू–भागका थोरै स्थानहरुमा भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको महाशाखाले औंल्याएको छ । महाशाखाका अनुसार अन्य प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा समेत भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको छ ।