दुग्धजन्य पदार्थको प्रयोगको महत्वबारे छलफल

1.3K

दुग्धजन्य पदार्थको प्रयोगको महत्वबारे छलफल

असार १५ को अवसरमा नेपाल डेरी एशोसियसन लुम्बिनी र रुपन्देही उद्योग संघले आइतबार दही चिउरा प्रवद्र्धन कार्यक्रमको आयोजना गरे । उद्योगी व्यवसायीहरुलाई यसको प्राचीन महत्वबारे जानकारी दिन र नयाँ पिँढीमा यसको परम्परागत विषयमा जानकारी दिन यी संस्थाले यो क्षेत्रमा लामो अध्ययन र लगानी गरेका व्यक्तिहरुलाई प्रमुख वक्ताको रुपमा आमन्त्रण गरेका थिए ।
कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य तथा विशेषअधिकार समिति सभापति गिरिधारीलाल न्यौपानेले नेपाली संस्कृतिसँग ऐतिहासिक सम्बन्ध भएको असार १५ बारे नयाँ पुस्तालाई वास्तविक जानकारी दिननसके आउने दिनमा यस्ता पर्वहरु लोप भएर जाने बताउनु भयो । उहाँले यस क्षेत्रका जानकारहरुले विभिन्न सामाजिक संघसंस्थामा आवद्ध व्यक्ति तथा समुदायमा गएर अनुशिक्षण चलाउन जरुरी रहेको बताउनु भयो । यसअघि नेकपा एमालेको केन्द्रीय कृषि विभाग प्रमुखका रुपमा काम गरेकाले पनि देशका विभिन्न स्थानमा यो पर्वलाई मनाइने गरेको बताउँदै गोरसको महत्व विज्ञहरुले दिँदा बढी प्रभावकारी बन्ने धारणा राख्नुभयो ।
‘असार १५ किसानको खुसीको पर्व हो, यसको महत्व नयाँ पिँढीलाई दिइरहनुपर्दछ, हामीले भान्सामा बढाएको अशुद्धताले नकारात्मक प्रभाव परेको छ, त्यसमा अब सचेत हुन जरुरी छ’ उहाँले भन्नुभयो–‘बहुउद्देश्यीय कम्पनीहरुले अहिले बामे सरेका मही, दहीसहितका डेरी उद्योगहरुलाई विस्थापित गर्ने योजना बनाउन सक्छन्, अब यसको प्रयोगमा अभियान चलाउनुपर्दछ ।’
कामधेनु गौशालाका संचालक डा. सोमराज योगीले नेपाली परम्परागत संस्कृतिलाई अवलम्बन गर्न नसकेका कारण धेरैले दुःख पाएको बताउँदै अब भान्सा सुधार गरेर दुग्धजन्य पदार्थको उपयोगलाई अभियानका रुपमा अघि बढाउनुपर्ने बताउनु भयो । असार १५ सँग सनातनी सम्बन्ध रहेको बताउँदै उहाँले स्थानीय उत्पादनको प्रयोगलाई प्राथमिकता दिएर राष्ट्रिय स्वाभावीमानलाई अघि बढाउनुपर्ने औंल्याउनु भयो ।
डेरी एशोसियशन लुम्बिनीका अध्यक्ष थानेश्वर न्यौपानेले अहिले केही व्यवसायीहरु संस्थागत रुपमा दुग्धजन्य पदार्थलाई मुख्य पेशा बनाएर अघि बढेकाले यसको प्रवद्र्धनमा साथ दिन आग्रह गर्नुभयो । उहाँले सबै नेपालीको स्वास्थ्यलाई विशेष ख्याल गरेर नै यस्तो अभियान अघि बढाएको बताउनु भयो ।
आयोजक रुपन्देही उद्योग संघका अध्यक्ष दिलिप सापकोटाले डेरी व्यवसायीलाई संरक्षण र प्रवद्र्धन गरेर अघि बढाउन आफूहरुले निरन्तर सहकार्य गरेको बताउँदै असार १५ को कार्यक्रम यसैको उदाहरण भएको बताउनु भयो । उहाँले स्वास्थ्य क्षेत्रको सचेतनाका लागि हरेक व्यक्ति चनाखो हुनुपर्ने समय आएकाले यसका विशेष ख्याल गर्न आग्रह गर्नुभयो । रुपन्देही उद्योग संघका महासचिव हिरामणी भट्टराईको सञ्चालनमा भएको कार्यक्रममा नेपाल डेरी एशोसियसनका पूर्व केन्द्रीय अध्यक्ष मेघराज भण्डारीले नेपाली उत्पादनलाई संरक्षण गर्ने दायित्व सबैको भएको र दुग्धजन्य पदार्थको प्रयोगले कसैलाई पनि नोक्सानी नगर्ने भएकाले यसको अभियानलाई अघि बढाउन आग्रह गर्नुभयो ।