सरकारको अनुदान सेजनद्वार अस्वीकार

1.3K

सरकारको अनुदान सेजनद्वार अस्वीकार

नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले सरकारले उपलब्ध गराएको अनुदान अस्वीकार गरेको छ । सूचना प्रविधि मन्त्रालयले आगामी आर्थिक वर्ष २०८२।८३ को बजेटमा सेजनलाई सञ्चालन अनुदान १ करोड रुपैंया विनियोजन गरेको छ ।
सेजनको मंगलबार बसेको कार्यसमिति बैठकले नेपालका आर्थिक पत्रकारहरुको छाता संस्थालाई विश्वास गरेर सदाशयता देखाएकोप्रति नेपाल सरकार र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई धन्यवाद दिंदै विभिन्न कारण र तर्क सहित उक्त अनुदान अस्वीकार गर्ने निर्णय गरिएको हो ।
अध्यक्ष सुजन ओलीका अनुसार सेजनले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँग यस प्रकारको कुनै पनि बजेट माग नगरेको, हालसम्म मन्त्रालयबाट कुनै पनि निःशर्त अनुदान स्वीकार नगरिएको, बजेट अनुशासन एवम् वित्तीय स्रोत उपयोगको प्रभावकारिताबारे सरकार र यसका निकायहरुमाथि निरन्तर खबरदारी गर्दै आएको र निःशर्त अनुदान स्वीकार गर्नु सेजनको आफ्नै विरासत र संस्थागत मौलिकताको समेत विपरित हुने भएकाले अनुदान अस्वीकार गरिएको हो ।
त्यसैगरी वित्तीय स्रोतको अभाव झेलिरहेको सरकारका लागि नागरिकको आधारभूत आवश्यकता र जीवन रक्षामा ठूलो लगानी गर्नुपर्ने आवश्यकता रहेको अवस्थामा जनताको करबाट प्राप्त स्रोतको नागरिक हितमा अधिकतम उपयोग गर्न सक्ने विकल्प छाडेर जिम्मेवार पत्रकारहरुको छाता संस्थाले बजेट उपयोग गर्नु पेशागत धर्म र मर्यादाको समेत खिलाफ हुने अध्यक्ष ओलीद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।