बुटवलमा सञ्चालित वेसिक अटोक्याट तालिम सकियो

1.3K

बुटवलमा सञ्चालित वेसिक अटोक्याट तालिम सकियो

बुटवलमा सञ्चालन गरिएको १६ दिने वेसिक अटोक्याट तालिम सकिएको छ । रुपन्देही उद्योग संघ र इन्स्योर परियोजनाको सहकार्यमा स्थापित सीप विकास इकाईको सहयोगमा बुटवल टेक्निकल इन्स्टिच्यूटले आयोजना गरेको तालिम शुक्रबार सकिएको हो ।
रुपन्देही तथा आसपासका क्षेत्रमा रहेको मेकानिकलसंग सम्बन्धित उद्योगमा काम गर्ने मजदुरहरुको सीप अभिबृद्धिका लागि ९६ घण्टे वेसिक अटोक्याट तालिम यहि असार २ गतेदेखि सञ्चालन गरिएको थियो । तालिममा १४ उद्योगका २० जना कामदार सहभागि थिए ।
तालिमको समापन समारोहमा बोल्दै रुपन्देही उद्योग संघका अध्यक्ष दिलिप सापकोटाले आधुनिक प्रविधिमा आधारित अटोक्याट तालिमले रोजगारी तथा स्वरोजगार बन्न अभिप्रेरित गर्ने विश्वास व्यक्त गर्नुभयो । उद्योग संघले विभिन्न तालिम प्रदायक संस्थासंग सहकार्य गरेर तालिम कार्यक्रमहरु सञ्चालन गर्दै आएको बताउँदै उहाँले यस्ता तालिमले स्वदेशी प्रविधिमा आधारित दीगो विकासको अधार तयार गर्ने बताउनु भयो ।
बुटवल टेक्निकल इन्स्टिच्यूटका तालिम विभाग प्रमुख मानकाजी कुमालले नयाँ प्रविधिको विकाससंगै औद्योगिक जनशक्तिलाई समय सयमयमा यस्ता तालिम महत्वपूर्ण हुने बताउनु भयो ।
तालिमका प्रशिक्षक देवीप्रसाद भट्टराई, प्रशिक्षार्थी तुलसी खनाल, रुपन्देही उद्योग संघका प्रमुख कार्यकारी अधिकृत यादवप्रसाद भण्डारी, बुटवल टेक्निकल इन्स्टिच्यूट, छोटो अवधि तालिम अधिकृत प्रकाश आचार्य कार्यक्रम संयोजक खिमानन्द रिजाल लगायतले भनाई राख्नुभएको थियो ।