वर्षाका कारण हुने विपद्को जोखिमबाट बचाउन जिल्ला प्रशासन कार्यालय पाल्पाले जुनसुकै समयमा सवारी साधन सञ्चालनमा रोग लगाउन सक्ने जनाएको छ । जिल्ला प्रशासन कार्यालय पाल्पाले विहिबार एक अनुरोध पत्र जारी गर्दै वर्षाको समयमा सुरक्षित भएर मात्रै यात्रा गर्न सर्वसाधारणलाई अनुरोध गरेको हो । त्यस्तै यातायात व्यवसायीलाई पनि राम्रोसंग बुझेर मात्रै सवारी साधन सञ्चालन गर्न निर्देशन गरेको हो ।
वर्षातका कारण पहिरो जाने, ढुंगा खस्ने र यात्रु तथा सवारी साधनमा समेत ठूलो क्षेती हुन सक्ने सम्भावना देखाउँदै रातीको समयमा पूर्ण रुपमा सवारी साधन सञ्चालनमा रोक लगाउन सकिने जानकारी गराएको हो भने वर्षाको अवस्था हेरेर दिनमा समेत सवारी साधन सञ्चालनमा रोक लगाउन सकिने जानकारी गराएको हो ।
जिल्ला सुरक्षा समितिको बैठकले यातायात व्यवसायी, सरोकारवाला सहितको सर्वपक्षीय बैठकको निर्णयका आधारमा वर्षात्को अवस्था हेरेर राती र दिउँसोमा समेत सवारी साधन सञ्चालनमा रोक लगाउन सकिने निर्णय गरेको छ । विशेषगरीः रातीको समयमा सवारी साधन सञ्चालनमा पूर्ण रुपमा रोक लगाउन सकिने उल्लेख गर्दै यात्रा गर्दा बुझेर मात्रै यात्रा गर्न अनुरोध गरिएको हो ।
पाल्पा जिल्लामा पर्ने सिद्धार्थ राजमार्ग अन्तर्गतको सिद्धवावा–राम्दी सडक खण्ड, तानसेन–रिडि–तम्घास सडकको तानसेन–रिडी खण्ड, रामपुर–हुमिन–ताँहू–आर्यभञ्याङ् सडक खण्ड, हार्थोक–छहरा–तिनगिरे सडक खण्ड र अन्य मुख्य सहायक मार्ग तथा ग्रामिण सडकहरुमा मनसुनजन्य प्रकोपका कारण पहिरो तथा ढुंगा झरेर सडक अवरुद्ध हुन सक्ने तथा जीउधनको असुरक्षा र सवारी साधनमा समेत क्षेती हुने भएकाले त्यसतर्फ सचेत गराईएको पाल्पाका सहायक प्रमुख जिल्ला अधिकारी ऋषिराम सुवेदीले जानकारी गराउनु भएको छ ।