तिलोत्तमा नगरपालिका वडा नं. ५ का सडकमा स्ट्रिट बोर्ड राख्न सुरु गरिएको छ । वडा कार्यालयले अहिले सिद्धार्थ राजमार्गमा जोडिएका २० वटा सडकमा स्ट्रिट बोर्ड राखिएको वडा अध्यक्ष रमेश डुम्रेले जानकारी गराउनु भयो ।
तिलोत्तमा नगरपालिकाको केन्द्र मणिग्राम हाईवे पूर्वतर्फ पर्ने उक्त वडामा ड्राईभरटोलदेखि मंगलापुरसम्म राजमार्गसंग जोडिएका २७ वडा सहायक सडक छन् भने वडा भित्र १२७ वटा भित्री सडक रहेको पनि उहाँले जानकारी गराउनु भयो । वडाका सबै सडकमा स्ट्रिट बोर्ड राख्ने योजना अनुसार अहिले हाईवेबाट भित्र जाने २० वटा सडकमा स्ट्रिट बोर्ड राखिएको छ ।
नगरपालिकासंग समन्वय गरेर स्ट्रिट बोर्ड राख्ने योजना अगाडि सारिएको बताउँदै उहाँले आगामी वर्ष बाँकी सडकमा राखिने पनि जानकारी गराउनु भयो । व्यक्तिले ठेगाना पत्ता लगाउन सजिलो होस भन्ने उद्देश्यले यो योजना अगाडि सारिएको बताउँदै उहाँले वडालाई व्यवस्थित बनाउन र अन्य सुरक्षा व्यवस्थाका हिसावले पनि सहज हुने बताउनु भयो ।
वडा कार्यालयले क्रमशः सुरक्षा व्यवस्थालाई मजबुद बनाउन सिसिटिभि जडान, पुर्वाधार विकासका कामलाई व्यवस्थित गर्ने योजना अगाडि सारेको वडा सदस्य हरि पन्थले बताउनु भयो । उहाँका अनुसार यसै आर्थिक वर्षमा सर्भिस लेन क्षेत्रमा एल.ई.डी. बत्तीहरू जडान गरिएको छ । त्यस्तै यात्रुलाई लक्षित गरेर चोकचोकमा विश्रमस्थल र तातो चिसो पानीको व्यवस्था मिलाईएको छ ।