बुटवल–भैरहवामा सडकमा यात्रा गर्दै हुनुहुन्छ ?

1.3K

बुटवल–भैरहवामा सडकमा यात्रा गर्दै हुनुहुन्छ ?

तपाई बुटवल–भैरहवा सडकमा यात्रा गर्दै हुनुहुन्छ ? यो सडकमा यात्रा गर्दै हुनुहुन्छ भने तपाईलाई तिलोत्तमा नगरपालिकाले निगरानी गरिरहेको छ, निर्धारित गतिमा मात्रै आफ्नो सवारी साधन चलाउनु होला ।
रुपन्देहीको तिलोत्तमा नगरपालिकाले दूर्घटना न्यूनिकरणका लागि सिद्धार्थ राजमार्गको बुटवल भैरहवा सडकमा स्पिड डिटेक्सन क्यामरा (राडर गन) जडान गरेको छ । प्रहरी रिपोर्टको आधारमा नगरपालिकाको सबैभन्दा बढी दूर्घटना हुने स्थललाई छनौट गरेर पत्थरडाडा र सखुवानीको बिचमा राडर गन (स्पिड डिटेक्सन क्यामरा) जडान गरिएको हो । ट्राफिक प्रहरीले यो सडकमा ६० किलोमिटर प्रति घण्टाको गति निर्धारण गरेको छ ।
नगरपालिकाले सिसिटीभी जडान र भिएमएस सर्भर जडानका लागि चालु आर्थिक वर्षमा बजेट विनियोजन गरेको थियो । सोही बजेटबाट स्पिड डिटेक्सन क्यामरा जडान गरिएको तिलोत्तमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले जानकारी दिनुभयो ।
तिलोत्तमा नगरपालिकाले नगर भित्र हरेक वर्ष नमुनाको रुपमा नौलो अभ्यास गर्दै आएको बताउँदै नगरप्रमुख रामकृष्ण खाणले दुर्घटनाको बढी जोखिम देखिएको सिदार्थ राजमार्गको बुटवल–बेलहैया सडक अन्तर्गत तिलोत्तमाको पत्थर डाडा र सखुवानीको बिचमा क्यामरा जोडिएको बताउनु भयो । उक्त क्षेत्रमा दुर्घटना बढी हुने भएकाले सवारी साधनको गति नियन्त्रण गर्न यो कार्य सहयोगी हुने उहाँले बताउनु भयो । उहाँले नगर भित्र गुडने साधन आवश्यक भन्दा बढी गतिमा गुडदा असुरक्षित हुने भएकाले त्यसको समाधानका लागि प्रहरीसंग छलफल गरेर क्यामरा जडान गरिएको बताउनु भयो ।
यो कामका लागि नेक्स्ट जेन आइटि सोलुसन काठमाडौंले ४८ लाख ९० हजार रुपैंयामा ठेक्का सम्झौता गरि काम गरेको सुचना प्रविधि अधिकृत ईञ्जिनियर सुनिल पन्थीले जानकारी दिनु भयो । उहाँका अनुसार जिल्ला प्रहरी कार्यालय रुपन्देहीको अभिलेखमा पनि पत्थरडाडा, सखुवानी क्षेत्र संबेदनशिल क्षेत्र उल्लेख गरिएको छ । त्यसकारण पनि त्यस क्षेत्रमा गति नियन्त्रण गर्नको लागि क्यामेरा जडान गरिएको हो ।
जडान गरिएको राडर गनले सडकमा गुडेको सवारीको गति पत्ता लगाउनुको साथै सवारी साधनको नम्बर प्लेट समेत सर्भरमा देखाउने भएकाले गति नियन्त्रण गर्न र दुर्घटना गराएर भागि हाले पनि प्रहरीलाई पक्राउ गर्न सहज हुने छ ।