सोमबारसम्म देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना : सतर्कता अपनाउन अनुरोध

1.3K

सोमबारसम्म देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना : सतर्कता अपनाउन अनुरोध

देशका विभिन्न स्थानमा भोली सोमबारसम्म भारी वर्षा हुने सम्भावना देखिएको छ । जल तथा मौषम विज्ञान विभाग, मौषम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी बायुको प्रभाव रहेको छ ।
महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा थोरै उत्तरतिर रहेको छ । यसका कारण नेपालमा वर्षा गराउने प्रणाली विकसित भएको हो । जसका कारण मध्य र पश्चिम क्षेत्रमा भारी वर्षा गराउन सक्ने प्रवल सम्भावना रहेको र भोलि सोमबारसम्म यो अवस्था रहने देखिएको छ ।
कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा भारी देखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ । सम्भावित वर्षाको कारणले भू–क्षय, बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम आकलन गर्दै महाशाखाले शहरी तथा तराई क्षेत्रहरूमा डुबान हुन सक्ने, साना ठूला नदी नाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने, दैनिक जन–जीवन, सडक तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन र पूर्व तयारीमा रहन सर्वसाधारणलाई अनुरोध गरेको छ ।
देशका विभिन्न क्षेत्रमा गएको १२ घण्टामा भारीदेखि अति भारी वर्षा मापन भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो १२ घण्टामा सबैभन्दा बढी कास्कीको लुम्लेमा एक सय ५१ मिलिमिटर वर्षा भएको छ ।
धनकुटामा एक सय २१, सुनसरीमा एक सय ३०, इलाम माइपोखरीमा एक सय २१ मिलीमिटर वर्षा भएको छ । यी चार स्थानमा अतिभारी वर्षा मापन भएको विभागले जनाएको छ । महाशाखाका अनुसार अन्य धेरै जिल्लामा पनि भारी वर्षा भएको छ ।