प्रतिनीधि सभा सदस्य दीपक बोहोराको निधन भएपछि कात्तिकमा तय भएको रुपन्देही क्षेत्र नं. ३ को उपनिर्वाचनका लागि नेपाली काँग्रेसले छलफल सुरु गरेको छ । पार्टी सभापति शेरबहादुर देउवा निवासमा चुनावी रणनीति र बस्तुस्थितीका बारेमा छलफल भएको हो ।
गत निर्वाचनमा यो निर्वाचन क्षेत्रमा समानुपातिक मत सबैभन्दा बढी नेपाली काँग्रेसले पाएको थियो । स्थानीय तहको निर्वाचनमा समेत यो निर्वाचन क्षेत्रमा पर्ने अधिकांश पालिकामा नेपाली काँग्रेसले जीत निकालेको थियो ।
यद्यपी प्रतिनीधि सभा सदस्य पदमा एमालेको साथ पाएको राप्रपाका नेता दीपक बोहोरा निर्वाचित हुनु भएको थियो । उक्त निर्वाचन क्षेत्रमा काँग्रेस पहिलो हुँदाहुँदै पनि प्राविधिक कारणले काँग्रेस उम्मेदवारले जित्न नसकेको निश्कर्ष सहित उपनिर्वाचनमा पार्टीका उम्मेदवारले जित्नेगरी रणनीतिक निर्णय लिईने बताईएको छ । उक्त छलफलमा उम्मेद्वारका विषयमा भने कुनै छलफल भएको छैन ।
बैठकमा भूमि विधेयक र निजामती विधेयक माथि पनि छलफल गरिएको थियो । निजामती विधेयकमा एमालेका सांसदले संशोधन प्रस्ताव राखेका छन् । ती सांसदहरुले राखेको संशोधन प्रस्ताव पार्टीको रुपमा नभई सांसदले स्वतन्त्रता प्रयोग गरेको रुपमा उक्त दलले जानकारी गराएको ब्रिफिङ् गरिएको थियो ।